• 1:50 pm

खेल क्षेत्रको विकासका लागि सबै भन्दा ठूलो चुनौती भौतिक पूर्वाधार रहेको छ : खेलकुद मन्त्री चौधरीे

प्रकाशित मिति

२०८१ पुष ८ गते, सोमबार ०४:५९

पुष ८, २०८१ काठमाडौँ: युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल क्षेत्रको विकासका लागि सबैभन्दा ठूलो चुनौति भौतिक पूर्वाधार रहेको बताएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) पछि आज (आइतबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले खेलकुद र खेलाडीको बृत्ति विकासका लागि भौतिकपूर्वाधारको अभाव रहेको बताएका हुन् । साथै, युवा तथा खेलकुद मन्त्रालयको बजेट नगरपालिकाको भन्दापनि कम हुँदा काम गर्न नसकिएको उनले गुनासो पोखे ।

‘सबैभन्दा ठूलो चुनौतिको रुपमा अहिले हामीसँग भौतिक पूर्वाधारको अभाव छ । खेलकुदमा हामीले सोचेअनुसारको बजेट छैन । सबैभन्दा कम बजेट खेलकुद मन्त्रालयमा छ । कूल बजेट ३ अर्ब ५० करोड रुपैयाँ छ । एउटा नगरपालिका, महानगरपालिकाको बजेट २६-२७ अर्ब हुन्छ,’– उनले भने ।

मन्त्री चौधरीले मूलपानी, विराटनगर क्रिकेट रङ्गशाला, कीर्तिपुर रङ्गशालामा गरी कूल १२ अर्बभन्दा बढीको लागत लाग्ने उनले बताए । त्यस्तै, सातै प्रदेशमा तत्काल क्रिकेट रङ्गशालाको खाँचो देखिएको पनि उनले बताए । ‘साँच्चै भन्ने हो भने क्रिकेटको ३ वटा राष्ट्रिय गौरवको योजना छ । ३ वटाको बजेट मोटामोटी १२ अर्ब रुपैयाँ पेश भएको छ,’– उनले भने ।

सरकारले खेलाडीहरुको बृत्तिविकास, मनोबल उच्च बनाउन र खेलाडीहरुको आर्थिक आर्जनका लागि नीतिगत निर्णय गर्ने उनको भनाइ छ । आफू नेतृत्वमा आएको ५ महिनामा पनि नीतिगत क्षेत्रमा धेरै काम भएको र व्यवस्थापनको कोशिस भइरहेको पनि उनले बताए । बैंकर्श संघ, आयल निगम, विद्युत प्राधिकरणलगायतका संस्थाहरुसँग खेलाडीको वृत्तिविकास र रोजगारीका लागि छलफल भइरहेको उनले बताए ।

साथै, उनले काठमाडौंभित्रै आफूहरुले फुटबलको लागि रङ्गशाला खोजिरहेको पनि उनले बताए । उनले खेल क्षेत्रमा नेपालले सोचेअनुरुपको भौतिक पूर्वाधार बनाउन नसकेको बताए ।

मन्त्री चौधरीले कीर्तिपुर रङ्गशाला निर्माणका लागि टेण्डर आह्वान भइसकेको र स्रोतसमेत सुनिश्चित भएको जानकारी गराए । दोस्रो एनपीएले यो भन्दापनि भव्य र उत्कृष्ट हुनेगरी आफूहरु लागिपर्ने पनि उनले प्रतिवद्धता व्यक्त गरे ।

प्रतिकृया