• 5:24 pm

रविपत्नी निकितालाई पनि बनाइयो प्रतिवादी

प्रकाशित मिति

२०८१ पुष ७ गते, आईतवार ०२:४२

पुष ७, २०८१ काठमाडौँ: कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी आरोपमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेललाई पनि प्रतिवादी बनाएर मुद्दा दायर भएको छ ।

पौडेललाई सम्पत्ति जफत गर्ने प्रयोजनको लागि प्रतिवादी बनाएर कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो । सम्पत्ति जफत प्रयोजनको लागि उनीसहित ५ जनालाई प्रतिवादी कायम गरिएको छ ।

सम्पत्ति जफतका लागि निकितासँगै पद्‌मा बन्जाडे, रोचक जोशी, राधा पछाई, मिना पछाईलाई प्रतिवादी बनाइएको अभियोग पत्रमा उल्लेख छ । उनीहरूको हकमा अदालतबाटै कानुन बमोजिम हुने भनिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आज लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । प्रतिवादीहरुविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो दाबी रहेको छ ।

रवि लामिछाने र छविलाल बन्जाडे जोशीसहितका प्रतिवादीहरूलाई तीन वटा कसुरमा अभियोग पत्र दायर गरिएको छ । उनीहरूलाई सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरणको कसुरमा अभियोग लगाइएको छ । प्रतिवादीहरु लिला पछाई र विश्वविक्रम राईविरुद्ध भने क्रिप्टो कारोबारअन्तर्गत पनि मुद्दा अगाडि बढाइएको छ ।

प्रतिकृया