दक्षिण कोरियाका राष्ट्रपति योलमाथि यात्रा प्रतिबन्ध
प्रकाशित मिति
२०८१ मंसिर २५ गते, मंगलवार ०९:३५
मंसिर २५, २०८१ काठमाडौँ: दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलमाथि यात्रा प्रतिबन्ध लगाइएको छ । मार्शल ल लागू भएकाले राष्ट्रपतिमाथि यो प्रतिबन्ध लगाइएको दक्षिण कोरियाका भ्रष्टाचार अनुसन्धान प्रमुखले बताएका छन् ।
रोयटर्सका अनुसार दक्षिण कोरियाली पुलिसले गत हप्तादेखि मार्शल ल लागू भएपछि उनी विरुद्ध विद्रोहको आरोपको अनुसन्धान गर्न यात्रा प्रतिबन्धको बारेमा विचार गरिरहेको थियो ।
गत मङ्गलबार युन सुक–योलले विपक्षी दलले उत्तर कोरियासँगको साँठगाँठ र राष्ट्रविरोधी गतिविधिमा संलग्न भएको आरोप लगाएपछि देशमा मार्सल ल लागू गरेका थिए । त्यसपछि देशले गम्भीर राजनीतिक अस्थिरताको सामना गर्यो। विपक्षी दलले उनीविरुद्ध महाभियोगको प्रस्ताव ल्याएका थिए, जुन पारित हुन सकेन ।
सत्तारुढ दलका अधिकांश सांसदले महाभियोग प्रस्तावमा मतदान बहिष्कार गरेका कारण विपक्षीले पारित गर्न आवश्यक दुई सय मत जुटाउन सकेनन् । तर, बुधबारबाट दक्षिण कोरियामा संसदको नयाँ अधिवेशन सुरु हुँदैछ । यस्तो अवस्थामा प्रतिपक्षले फेरि एकपटक महाभियोग प्रस्ताव ल्याउने तयारी गरिरहेको छ ।
विपक्षी दलले बुधबार राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव पारित गर्न सफल भए युनविरुद्ध अदालतमा मुद्दा दायर गरिनेछ । जहाँ ९ मध्ये ६ जना न्यायाधीशको मतले प्रस्ताव प्रमाणित हुनेछ । अहिले दक्षिण कोरियाको अदालतमा ६ जना मात्रै न्यायाधीश रहेकाले ७ जना न्यायाधीश बिना यो मुद्दा चल्छ कि हुँदैन भन्ने स्पष्ट छैन ।
यदि युनले मे २०२७ मा आफ्नो पाँच वर्षको कार्यकाल समाप्त हुनु अघि राजीनामा गरे भने, संविधानले ६० दिन भित्र राष्ट्रपतिको निर्वाचन गर्न आवश्यक छ ।
दक्षिण कोरियाको संसदमा जम्मा ३ सय सिट छन् । यस वर्षको सुरुमा भएको निर्वाचनमा जनताले विपक्षी दल डीपीकेलाई ठूलो जनादेश दिएका थिए । सत्तारुढ जनशक्तिको १०८ सिट मात्र पाएको छ भने विपक्षी दल डीपीकेले १७० रहेको छ । बहुमतमा रहेका कारण विपक्षी दलले राष्ट्रपति सरकारको कामकारबाहीमा बढी हस्तक्षेप गर्दै आएकाले आफ्नो एजेण्डाअनुसार काम गर्न सकेको छैनन् ।
राष्ट्रपति योलले २०२२ को चुनावमा कम मतान्तरले जितेका थिए। यसपछि उनको लोकप्रियता घट्न थाल्यो । हाल राष्ट्रपतिको लोकप्रियता लगभग १७ प्रतिशत छ, जुन देशका सबै राष्ट्रपतिमध्ये सबैभन्दा कम हो ।
प्रमुख विपक्षी डेमोक्र्याटिक पार्टीले युनले लगाएको मार्शल ललाई असंवैधानिक, गैरकानुनी विद्रोह वा कू भनेको छ । यस सम्बन्धमा राष्ट्रपति युन र पूर्व रक्षामन्त्रीसहित नौ जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ ।
शनिबार महाभियोग प्रस्तावमा मतदान गर्नुअघि राष्ट्रपति युन सुक-योलले मार्सल ल लागू गरेकोमा देशसँग माफी मागेका थिए ।
प्रतिकृया