• 9:36 am

कामपाले अब सवारीसाधनको प्रदूषण जाँच गर्ने, मापदण्डविपरीत भेटिए हरेकपालि १००० जरिवाना

प्रकाशित मिति

२०८१ मंसिर ६ गते, बिहीबार ११:४४

मंसिर ६, २०८१ काठमाडौँ: काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्र भएर गुड्ने सवारीसाधनको प्रदूषण चेकजाँच गर्ने भएको छ । चेकजाँचमा सवारीसाधन मापदण्डविपरीत भेटिए जरिवाना गर्ने महानगरपालिकाको तयारी छ ।

बढ्दो वायु प्रदूषणलाई न्यूनीकरण गर्न महानगरपालिकाले काठमाडौं महानगरपालिका प्रदूषण नियन्त्रण मापदण्ड, २०८१ जारी गरेको छ । सोही मापदण्डअनुसार आफ्नो क्षेत्र भएर गुड्ने सवारीसाधनहरूको महानगरपालिकाले प्रदूषण चेकजाँच गर्न लागेको हो ।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सवारीसाधनबाट उत्सर्जन हुने धुँवा वायु प्रदूषणले जनस्वास्थ्यमा गम्भीर असर पुर्याउने भएकाले प्रदूषण चेकजाँच कार्यलाई अघि बढाउन लागिएको जनाएको छ ।

महानगरपालिकाका अनुसार यस्तो जाँचका क्रममा सवारीसाधन मापदण्डविपरीत पाइए प्रत्येक पटक एक हजार रूपैयाँ जरिवाना हुनेछ । महानगरपालिकाको आर्थिक ऐनमा प्रदूषण चेकजाँचमा फेल भएका सवारीसाधनलाई प्रत्येक पटक एक हजार रूपैयाँ जरिवाना गर्न सकिने व्यवस्था छ ।

संघ तथा स्थानीय सरकारले सवारीसाधनको प्रदूषण मापदण्ड तोके पनि त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा काठमाडौं उपत्यकामा मापदण्डविपरीतका सवारीसाधन गुडिरहेका छन् । महानगरपालिकाले कडाइका साथ चेकजाँच अघि बढाएमा त्यस्ता सवारीसाधन सञ्चालनमा कमी आई प्रदूषण नियन्त्रणमा समेत सहयोग पुग्नेछ ।

महानगरपालिकाले धुँवा उत्सर्जन गर्ने उद्योग, कलकारखानालाई पनि वायु प्रदूषण नियन्त्रणसम्बन्धी तोकिएको मापदण्ड अनिवार्य पालना गर्न सचेत गराएको छ ।

‘… वायु प्रदूषण नियन्त्रणसम्बन्धी तोकिएको मापदण्ड अनिवार्य रूपमा धुँवा उत्सर्जन गर्ने उद्योग, कलकारखाना, सवारीसाधन आदिमा पालना गर्न अनुरोध गरिन्छ,’ महानगरपालिकाद्वारा जारी सूचनामा भनिएको छ ।

प्रतिकृया