• 7:26 pm

काठमाडौंमा जलवायु अभियन्ताहरूद्वारा COP29 मा समान र न्यायपूर्ण जलवायु वित्तको माग गर्दै मार्च

प्रकाशित मिति

२०८१ मंसिर २ गते, आईतवार ११:०८

मंसिर २, २०८१ काठमाडौँ: जलवायु अभियान्ता, नागरिक समाज, मजदुरहरू, ट्रेड युनियन प्रतिनिधिहरु, साना किसान, आदिवासी समुह र स्थानीय समुदायहरूले काठमाडौंमाnजलवायु वित्तको माग गर्दै आज सडकमै उत्रिएका छन्।यी प्रदर्शनहरू बाकु, अजरबैजानमा जारी कोप २९ (COP-29) को सन्दर्भमा गरिएको हो। यो आन्दोलनले वैश्विक उत्तर(Global North) का सरकारलाई ऐतिहासिक जलवायु ऋण चुकाउन र वैश्विक दक्षिण (Global South)प्रतिको आफ्नो वित्तीय दायित्व पूरा गर्न आह्वान गरेको छ।

काठमाडौंमा र्याली भृकुटीमण्डपबाट शुरू भएर रत्‍नपार्क स्थित शान्ति बाटिकामा गएर बिसर्जन भयो।साथै, देशभरिका उल्लेखित १६ शहरहरूमा जलवायु अभियान्ता, नागरिक समाज र स्थानिय समुदाय जलवायु न्यायको माग गर्दै र्यालीको हिस्सा बने। आजको र्‍यालीको केन्द्रीय माग स्पष्ट छ: वैश्विक उत्तरले(Global North) आफ्नो जलवायु वित्तको प्रतिवद्धता पूरा गर्नुपर्छ। औद्योगिक देशहरूको ऐतिहासिक जलवायु ऋण, जसको अनुमानित रकम प्रति वर्ष पाँच ट्रिलियन अमेरिकी डलर छ त्यो चुकाउनु पर्नेछ। यो भविष्यको लागि एक न्यायपूर्ण र दिगो मार्गको पहिलो किस्ता हो, जसले विश्व उत्तरको विगतका कार्य र निष्क्रियताले सिर्जना गरेका गम्भीर असमानताहरू र अन्यायहरू न्युनिकरण गर्दछ।

जलवायु संकटले विश्वका सबै देशमा समान रूपको र साझा चुनौती सिर्जना गरेको छैन। ग्लोबल नर्थले आर्थिक वृद्धिका लागि गरेका क्रियाकलापहरूले, दक्षिणका देशहरूविशेष गरी नेपालजस्ता देशहरुले दैनिक रूपमा यसको भयानक प्रभावहरूको सामना गरिरहेका छन्, जस्तै बाढी, खडेरी, र गर्मी लहर। हाम्रा हिमश्रिखंला दिन दिनै पगलिदै गएका छन र हिमताल फुटने लहरो छ। नेपाल जस्तो देशको लागि जलवायु संकटले प्रति दिन नयाँ चुनौती थपदैछ, जसले हाम्रो जीविकोपार्जन र जैविक विविधतालाई नै खतरा पुर्याउदैछ। तसर्थ अब वैश्विक उत्तरले आफ्नो ऐतिहासिक जिम्मेवारी स्वीकार गरेर कदम चालनु बाहेक अन्य कुनै उपाय छैन।

जिफन्टकी सीता लामाले नेपालमा जलवायु परिवर्तनको असरबारे प्रकाश पार्दै भनिन्, “नेपालले बारम्बार आउने बाढी, पहिरो र अन्य जलवायुजन्य प्रकोपका कारण घरबार, जीविकोपार्जन र सम्पूर्ण समुदायलाई ध्वस्त पारेको छ । जलवायु संकटमा सबैभन्दा ठूलो योगदानकर्ताको रूपमा विकसित देशहरूले क्षतिपूर्ति उपलब्ध गराएर जिम्मेवारी लिनुपर्छ र नेपालजस्ता सबैभन्दा प्रभावित देशहरूले पुन:प्राप्ति, लचिलोपन र पारगमनका लागि पर्याप्त सहयोग प्राप्त गर्ने कुरा सुनिश्चित गर्नुपर्दछ।”

आरआरएन(RRN) का भानु पराजुलीले नेपालमा अन्तरसम्बन्धित संकटमा जोड दिँदै भने, “जलवायु परिवर्तनको प्रभावले नेपालमा खाद्य असुरक्षादेखि पानी र ऊर्जा प्रणालीमा अवरोधसम्म धेरै संकटहरू निम्त्याएको छ । यी क्यास्केडिङ प्रभावहरूले समुदायहरूलाई पहिले भन्दा बढी कमजोर बनाउँदैछ। हामीलाई यी प्रणालीगत चुनौतिहरूलाई समग्र रूपमा सम्बोधन गर्न जलवायु वित्त चाहिन्छ, यो सुनिश्चित गर्दै कि समुदायहरूले यस बढ्दो जलवायु आपतकालको सामनामा लचिलोपन निर्माण गर्न र आफ्नो जीविकोपार्जन सुरक्षित गर्न सक्छन्।”

जलवायु अभियान्ता विख्यात खत्रीले भने, “आज, हामी नेपाल जस्तो जलवायु संकटबाट सबैभन्दा प्रभावित हुने देशहरूको न्यायको माग गर्दै र ग्लोबल नर्थको दोहोरो चरित्रको विरोधमा उभिएका छौं। हामीले ग्लोबल नर्थको अपराधको सजाय भोगदैछौँ तसर्थ ग्लोबल नर्थले आफ्नो ऐतिहासिक जिम्मेवारीलाई स्वीकार्नुपर्छ र आफ्नो जलवायु वित्तको कर्तव्य पूरा गर्नुपर्छ। हामिले गम्भीर प्रभावहरूको सामना गरिरहेकाले, अब खाली आश्वासनले चित्त बुझाउने समय छैन।आफुले खाँदै नखाएको विष लागेर हाम्रोभविष्य धरापमा जाँदैछ तसर्थ औद्दोगिक राष्ट्रहरुले नै जलवायु वित्त मार्फत यसको क्षतिपुर्ति गर्ने दायित्व वहन गर्नुपर्छ। हाम्रो तात्कालिक क्रियाकलापमा नै हाम्रो भविष्य निर्भर गर्दछ, र हामी हाम्रो आवाज सुनाउने र न्यायपूर्ण जलवायु वित्तको लागि हाम्रो माग पूरा नभएसम्म विश्राम गर्ने छैनौं।”

यो र्‍याली विश्वभरको आन्दोलनको हिस्सा हो, जसले जलवायु संकटलाई उचित रूपमा समाधान गर्न सामाजिक, आर्थिक र राजनीतिक प्रणालीमा परिवर्तनको आह्वान गर्दछ।यो मार्च वैश्विक आन्दोलनको दिनको समर्थनमा आयोजित गरिएको हो, र COP-29 वार्ताहरूको बीचमा गरिएको छ, जहाँ तत्काल जलवायु क्रियाको लागतको समाधानका लागि महत्वपूर्ण निर्णयहरू गरिने छन्। थामे, सिन्धुपाल्चोक, मुस्ताङ र तराईजस्ता स्थानहरूमा, समुदायहरूले दैनिक रूपमा जलवायु परिवर्तनका प्रभावहरूको सामना गरिरहेका छन्।त्यसैले पनि यो र्याली र अहिले उठेका आवाजहरुले तात्कालिक समयमा विशेष अर्थ राखेको छ। आज, नेपाली नागरिक समाजले स्पष्ट पारे: हामी हाम्रो भविष्यको जोखिममा हेर्दै चुपचाप बस्न सक्दैनौं।

प्रतिकृया