• 12:02 pm

राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा ललितपुर महानगरले चलायो डोजर

प्रकाशित मिति

२०८१ कार्तिक २५ गते, आईतवार ०२:४०

कार्तिक २५ , २०८१ काठमाडौँ: ललितपुर महानगरपालिकाले राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा डोजर चलाएको छ । आइतबार ललितपुरको हरिहर भवनस्थित विकास बोर्डको अनधिकृत संरचनामा नगरप्रमुख सीताराम हाछेथुको नेतृत्वमा नगर प्रहरीले डोजर चलाएको हो ।

नगरप्रमुख हाछेथुले सहकारीले सरकारी बाटो मिचेर बिना नक्सा मापदण्ड विपरीत गएर संरचना बनाएको बताए । उनले सहकारीलाई ७ दिने सूचना निकालेर ध्यानाकर्षण गराउँदा पनि व्यवस्था नगरेको कारण आफूहरूले डोजर चलाएको उनको भनाई छ ।

उनले भने,‘यहाँ मापदण्ड विपरीत गएर संरचना बनाइएको थियो । यो मापदण्ड विपरीत छ भनेर पहिले नै निर्णय भइसकेको थियो । सहकारीले जनताको बाटो बढी मिचेर संरचना बनाएको छ । जनताको बाटो जनताले नै प्रयोग गर्न पाउनुपर्छ भन्ने हो । यहाँ मुद्दा परेपछि संरचना भत्काउन अदालतले ललितपुर महानगरपालिकालाई निर्देशन दिएसँगै ललितपुर महानगरको निर्देशनमा भत्काउन सुरु गरेका हौँ । हामीले ७ दिनको समय पनि दिएका थियौँ ।’

प्रतिकृया