उमेर हदको विषयले अखिल क्रान्तिकारीमा लफडा, कीर्तिपुरमा कुर्सी हानाहान
प्रकाशित मिति
२०८१ आश्विन १४ गते, सोमबार ०४:३५
असोज १४ , २०८१ काठमाडौँ: माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २३ औँ सम्मेलनमा लफडा भएको छ । संगठनमा उमेर हद लगाउने वा नलगाउने भन्ने विषयमा विवाद हुँदा एक समूहले कुर्सी फालेको हो । त्यसमा अन्य समूहले प्रतिवाद गर्दा कुर्सी हानाहानको अवस्था सिर्जना भएको अखिल क्रान्तिकारीका एक नेताले जानकारी दिए ।
उनका अनुसार अध्यक्षको दाबी गरिरहेका तुकमान महरा समूह उमेद हदको विपक्षमा थियो । तर पार्टीले नै उमेर हद लगाउने भनेपछि विवाद चर्किएको हो ।
‘उहाँहरुको समूह (तुकमान) पहिलेदेखि नै उमेर हद नलगाउने पक्षमा थियो । आज पार्टी अध्यक्षले पनि उमेर हदको विषयमा प्रतिनिधिहरुले निर्णय गर्ने र सोही अनुसार अघि बढ्न निर्देशन दिनुभएको थियो,’ ती नेताले भने, ‘तर उहाँहरु सकेसम्म त्यसलाई बिथोल्न कुर्सी तोडफोडमा लाग्नुभएको हो ।’
त्यसो त निर्वाचन समितिका संयोजक हिमाल शर्मासहितको टोलीले पुष्पकमल दाहाल प्रचण्डसँग भेटेको थियो । प्रचण्डले देशभरबाट आएका प्रतिनिधिहरुले नै त्यसको निर्णय गर्ने बताएका थिए ।
अखिल क्रान्तिकारीमा २८, ३० वा ३२ वर्षीय उमेर हद लगाउने भन्ने विषयमा छलफल भइरहेको छ । यदी उमेर हद लगाएमा अहिले अध्यक्षका लागि दाबी गर्नेहरु बाहिरिने छन् । आज नै देशभरबाट आएका २ हजार ३ सय २३ प्रतिनिधिहरुले उमेर हद लगाउने वा नलगाउने भन्नेमा मतदान गर्ने र बहुमत प्रतिनिधि लगाउने पक्षमा देखिएमा ३ विकल्प (२८,३० र ३२ वर्ष) मा मतदान गरेर त्यसको छिनोफानो गर्ने तयारी थियो । तर एक पक्ष असहमत देखिएपछि अहिले निर्वाचन हुने वा नहुनेमा समेत अन्यौल देखिएको थियो ।
गत असोज १० गतेबाट अखिल क्रान्तिकारीको २३औँ सम्मेलन कीर्तिपुरमा सुरु भएको छ । त्रिभुवन विश्वविद्यालयको एक हलमा भइरहेको सम्मेलन एक समूहले विरोध गरेपछि अन्योल देखिएको हो ।
प्रतिकृया