पाइलटको सकुशल उद्धार गर्ने २ डिएसपीसहित ६ प्रहरी पुरस्कृत
प्रकाशित मिति
२०८१ श्रावण ११ गते, शुक्रबार १२:३९

साउन ११, २०८१ काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरको विमान दुर्घटनापछिको जोखिमपूर्ण अवस्थाबाट विमान चालकलाई सकुशल उद्धार गर्ने छ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् ।
प्रहरी प्रधान कार्यालयले उक्त जोखिमपूर्ण अवस्थामा पाइलट मनीषरत्न शाक्यलाई सकुशल उद्धार गर्न सफल प्रहरी कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो। दुई प्रहरी नायब उपरीक्षक र चार जना जवानहरूलाई नेपाल सरकारको नियमानुसार (बढीमा २ हजार ५ सय) पुरस्कार प्रदान गरिएको केन्द्रिय प्रहरी प्रवक्ता दान बहादुर कार्कीले बताए ।
प्रहरी नायब उपरीक्षक सुकेदेव खनाल र टंक राउत तथा प्रहरी जवान श्रीराम परियार, करणसिंह चाइसिर, भीमप्रसाद गौतम र कृष्ण जोशीलाई पुरस्कृत गरिएको प्रवक्ता कार्कीले बताए ।
साउन ९ गते बिहान ११ बजेर १३ मिनेटको समयमा काठमाडौँबाट पोखरा जान लागेको उक्त विमान उड्ने बित्तिकै खसेर दुर्घटना भएको थियो । दुर्घटनामा पाइलट शाक्यबाहेक सबै १८ जनाको मृत्यु भएको थियो ।
प्रतिकृया