• 12:37 pm

वाग्मतीसहित यी प्रदेशमा हुनेछ वर्षा

प्रकाशित मिति

२०८१ जेष्ठ २६ गते, शनिबार ०८:२४

जेठ २६, २०८१ काठमाडौँ: देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । कोसी, वाग्मती र गण्डकीमा वर्षाको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।

विभागले दिउँसो कोसी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

लुम्विनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ ।

काठमाडौं उपत्यकामा आज वर्षाको सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए । उनका अनुसार अपराह्नतिर छिटपुटदेखि हल्का वर्षा हुने सम्भावना छ ।

विभागले राति कोसी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका केही भू–भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा हल्कादेखि मध्यमसम्म वर्षा भएको छ । विभागका अनुसार ललितपुरको खुमलटारमा सबैभन्दा धेरै वर्षा भएको छ । मौसमविद् लामिछानेका अनुसार खुमलटारमा ३०.७ मिलिमिटर वर्षा भएको छ । कीर्तिपुरमा १२.२, बबरमहलमा ७.६, बूढानीलकण्ठमा २.४ मिलिमिटर वर्षा भएको छ ।

हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको विभागले जनाएको छ ।

प्रतिकृया