• 1:09 pm

सरकारको स्पष्टीकरण : राजदूत फिर्ता नियमित प्रक्रिया, परम्पराको निरन्तरता

प्रकाशित मिति

२०८१ जेष्ठ २५ गते, शुक्रबार ०५:०७

जेठ २५, २०८१ काठमाडौँ: सरकारले विभिन्न ११ देशबाट नेपाली राजदूत फिर्ता बोलाउने निर्णय नियमित प्रक्रिया भएको स्पष्ट पारेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले सरकार फेरिँदा राजदूतलाई पनि फिर्ता बोलाउने परम्परा रहेको बताइन् ।

उनले त्यही परम्परालाई यस पटक पनि निरन्तरता दिँदै विभिन्न देशका राजदूतहरूलाई फिर्ता बोलाइएको बताइन् । उनले विगतदेखि नै यस्तो परम्परा चलिआएको भन्दै यसलाई नियमित प्रक्रियाबारे बुझ्न आग्रह गरिन् ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै शर्माले मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्स र थप संरचना मेलम्चीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय भएको बताइन् ।

त्यस्तै आवश्यक सेवा सञ्चालन ऐन बमोजिम तोकिएका आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताइन्।

बैठकले जीवनाशक विषादी व्यवस्थापन नियमावली २०८१ स्वीकृत गर्ने र ज्येष्ठ नागरिक सम्बन्धी पहिलो संशोधन नियमावली २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रतिकृया