• 10:08 pm

ज्ञानेन्द्र शाह सत्ताच्यूत हुनुमा कमल थापा र भेषबहादुर थापाको हात छ : डा. सुरेन्द्र केसी

प्रकाशित मिति

२०८१ जेष्ठ २० गते, आईतवार ११:१२

जेठ २०, २०८१ काठमाडौँ: दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा भएको छ । दरबार हत्याकाण्डमा तत्कालीन राजा विरेन्द्रको वंशनाश भएको थियो । उक्त हत्यकाण्ड छानविन गर्न तत्कालीन सभामुख तारानाथ रानाभाटको नेतृत्वमा उच्चस्तरीय छानविन समिति बनेपनि विश्वसनीय प्रतिवेदन दिन सकेन । दरबार हत्याकाण्डका बारेमा अहिले पनि अनेकौं अनुमान लगाइन्छ ।

रिपोर्टर्स क्लब नेपालले आज (शनिबार) तत्कालीन समयमा दरबारको नजिक मानिएका डा. सुन्दरमणि दीक्षितसहितको उपस्थितिमा अन्तरक्रिया गरेको छ । सो क्रममा क्लबका सभापति ऋषि धमलाले राजा विरेन्द्रसँग आफ्नो भेटलाई स्मरण गरे । उनले उक्त हत्याकाण्ड अहिलेसम्म रहस्यकै गर्भमा रहेको भन्दै छानविनको माग गरे । सभापति धमलाले पुनः छानविन समिति बनाएर निश्पक्ष छानविन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताए ।

‘त्यो हत्याकाण्ड त्यसै भएको छैन । छानविन गर्नुपर्छ । दरबार हत्याकाण्ड कसरी भयो, कसले गर्यो ? किन गर्यो ? छानविन गर्नुपर्छ । उच्चस्तरीय समिति पहिला पनि बन्यो । तारानाथ रानाभाट अहिले पनि हाम्रो सामू हुनुहुन्छ । माधव नेपालले समितिमा बस्न मान्नुभएन,’– उनले भने ।

नागरिक समाजका अगुवा डा. दीक्षितले राजा विरेन्द्रलाई असल र नम्र व्यक्तिको रुपमा सम्झिए । उनले दरबार हत्याकाण्ड दिपेन्द्रले नै गराएको दाबी गरे । उनले दरबार हत्याकाण्ड हुनुको मुख्य कारण दिपेन्द्रको लभ अफयर नै रहेको दाबी गरे ।

दरबार हत्याकाण्डलाई उनले यसरी सम्झिए,‘त्यो दिन शुक्रबारको दिन थियो । राज परिवारको जमघट हुने दिन थियो । त्यहाँ दिपेन्द्रले कम्ब्याट ड्रेस लगाएर आएर गोली हानेको छ । राजा विरेन्द्रलाई गोली हानिसकेपछि अरुलाई हान्दै गए, फेरि फर्किएर आएर राजा मरेका छन् कि छैनन् ? हेरको छ । त्यो बेलासम्म राजाको स्वर्गीय भएको थिएन । त्यसबेलामा राजाको शीर उहाँको बहिनी (शोभा) को काखमा राखेर उहाँको बहिनीले हेरविचार गरिराख्नुभएको थियो । त्यसबेलामा दिपेन्द्र आएर फेरि गोली हानेर हत्या भएको छ । यो हत्या दिपेन्द्रले गरेको हो । कारण सबैलाई थाहा छ, कारण लभ अफयर नै हो । बिहेको सम्बन्ध हो । दिपेन्द्रको मुकुटधारी मान्छे आयो भने । त्यो होईन । दिपेन्द्रले वंशनाश गरेको हो ।’

त्यसबेलाको राजनीतिक नेतृत्व पूरै प्यारालाइज हुँदा छानविन हुन नसकेको उनको भनाइ छ । दिपेन्द्रले हत्या गरेको कुरामा विवाद नरहेको दाबी गर्दै उनले ज्ञानेन्द्रको परिवारलाई केही नहुनुको रहस्यसमेत खुलाए ।

ज्ञानेन्द्र घटना हुनुभन्दा केही दिनअघि नै पूर्वनिर्धारित कार्यक्रमअनुसार बाहिर गएको बताए । घटना भएपछिमात्रै ज्ञानेन्द्रलाई सो बारेमा उनकी आमाले फोनमार्फत जानकारी गराएको उनको दाबी छ । ज्ञानेन्द्रको श्रीमती कोमल सो घटनामा घाइते भएको उनले बताए । सो घटनामा कोमलको मृत्यु नहुनुमा एउटी राजकुमारी गोली लागेर ढलेपछि त्यसमाथि कोमल र कोमलमाथि पुन अर्की राजकुमारी ढल्दा उनीलाई केही नभएको बताए ।

‘दिपेन्द्रले गोली हान्दै जाँदा एकपछि अर्को ढल्दै गए । एउटा दिदी ढलिन्, त्यसमाथि कोमल ढलिन र अर्की राजकुमारी पनि त्यहीमाथि ढल्दा उनी बचिन् । आजको दिनसम्म पनि पूर्वराजी कोमलको छातीमा गोली छ । त्यो निकाल्न सकिएको छैन । त्यो निकालियो भने उनको मृत्यु हुनसक्छ,’– दीक्षितले भने ।

दिपेन्द्रको लभ अफयर चलिरहँदा उनको पक्षमा निराजन र पारस रहेको दीक्षितको दाबी छ । अरु सबै परिवार रानीको पक्षमा रहेकाले दिपेन्द्रले छानीछानी गोली हानेको उनले बताए । पारसलाई दिपेन्द्रले नै छाडेको उनको भनाइ छ । दिपेन्द्रले सबै जनालाई मारेपछि निराजन जाइलाग्दा उनलाई पनि मारेको दीक्षितले दाबी गरे ।

अहिले एडीसीले के हेरेर बसेको भन्ने प्रश्न आइरहेको भन्दै उनले राजपरिवारको जमघटमा कुनै एडीसी छिर्न नपाउने बताए । विरेन्द्रका निकट रहेका तत्कालीन एडीसी सुन्दर रानामगरले विरेन्द्रलाई हस्पिटल पुर्याएको उनले बताए ।

विरेन्द्रको वंशनाशपछि अहिलेसम्म आइपुग्दा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएपनि अब देशले यसलाई धेरै दिन झेल्न नसक्ने उनले बताए । गणतन्त्र आउँदा आफूले पनि दीप प्रज्वलन गरेको स्मरण गराउँदै उनले अब यो व्यवस्था फ्क्नुपर्ने अवस्था आइपुगेको बताए ।

प्राध्यापक डा. सुरेन्द्र केसीले दरबार हत्याकाण्डमा जनताले ज्ञानेन्द्रमाथि ठूलो आशंका गरेको बताए । ज्ञानेन्द्रमाथि जनताले आशंका गरेपनि घटनाबाट बचेका गोखर शमशेरले पनि यसमा दिपेन्द्रकै हात रहेको बताएको उनले सुनाए ।

सेना, प्रहरीले, शाही परिवार र दरबारसँग जोडिएका राणाहरुले उक्त घटना युवराज दिपेन्द्रले नै गराएको दाबी गरिरहेको उनले बताए । आफूलाई भने सबै घटना दिपेन्द्रले गराएकोमा विश्वास नरहेको बताए । उनले विरेन्द्रलाई हान्नेसम्म चाहीँ दिपेन्द्रले गरेको र त्यसपछि अरु कोही संलग्न भएको आशंका व्यक्त गरे । दरबारनिकटका कलाकार नीर शाहले पनि उक्त घटना दिपेन्द्रकै कारण घटेको भनी अन्तरवार्ताहरु दिएको केसीले स्मरण गराए । दिपेन्द्रलाई सो घटनामा आफ्नो पनि ज्यान जाँदैछ भन्ने कुरा थाहा नभएको डा. कसीको दाबी छ । दिपेन्द्रले गोली चलाएर विरेन्द्र ढलेपछि त्यसपछिको घटनालाई अरुले टेकओभर गरेको उनको उनको अनुमान छ ।

संवैधानिक दायरामा आइसकेको राजपरिवारको वंशनाश गर्नुपर्ने नेपाली जनताबाट कुनै खतरा नरहेको उनले बताए । विरेन्द्रको वंशनाशपछि राजा बनेका ज्ञानेन्द्रले पालेहुर्काएकाहरुबाट नै राजासंस्थामा खतरा आएको बताए । उनले ज्ञानेन्द्र सत्ताच्यूत हुनुमा कमल थापा र भेषबहादु थापाको नाम लिए ।

अहिले राजतन्त्रको पक्षमा माहोल बन्दै गएको डा. केसीको भनाइ छ । उनले अहिलेका राष्ट्रपति, प्रधानमन्त्री र नेताहरुको भन्दा बजारमा आफ्नो क्रेज बढी रहेकोसमेत दाबी गरे ।

प्रतिकृया