बजेट पछिको पहिलो कारोबार दिन नेप्सेमा गिरावट
प्रकाशित मिति
२०८१ जेष्ठ १६ गते, बुधबार ०३:५१

जेठ १६, २०८१ काठमाडौँ: बजेट पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर २१०० विन्दुभन्दा तल झरेको छ। मंगलबार प्रस्तुत भएको बजेटले लगानीकर्ताहरुको माग सम्बोधन नगर्दा यस दिन बजार घटेको हो । लगानीकर्ताहरु आगामी आर्थिक वर्षको बजेटमा कर सम्बन्धि नयाँ व्यवस्था गर्ने अपेक्षा गरेका थिए। सोही अपेक्षामा बजेट अघिका दिनहरुमा बजार बढेको थियो। तर, हिजो प्रस्तुत भएको बजेटले कर सम्बन्धि कुनै हेरफेर नगरेपछि लगानीकर्ताहरु निराश भएका छन्। जसका कारण यस दिनको बजार घटेर २१०० विन्दुभन्दा तल झरेको हो।
बुधबार नेप्से परिसूचक २३.८१ अंक घटेर २०८९.४२ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.८२ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.१७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३६ अंक घटेको छ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ८९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१४ स्टकको ६३ हजार ८० पटकको कारोबारमा ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ७ लाख ३८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन युनिलिभर नेपाल, कालिञ्चोक दर्शन, अप्पर लोहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन पोखरा फाइनान्सको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ९.४१ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन पोखरा फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १९ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सर्वोत्तम सिमेन्टको कारोबार रकम १४ करोड नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक स्थिर रहेको छ। बढेका उपसमूहमध्ये यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.६८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक १.१३ प्रतिशत बढेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक २.९४ प्रतिशत घटेको छ।
प्रतिकृया