• 11:53 am

कार्यदल बैठकमा प्रधानमन्त्री, रवि लामिछानेसहित शीर्ष नेताहरू

प्रकाशित मिति

२०८१ जेष्ठ १४ गते, सोमबार १०:३३

जेठ १४, २०८१ काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित कार्यदलको बैठक सुरु भएको छ । सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनाउने भनिएको संसदीय समितिको कार्यादेश तय गर्न गठित कार्यदलसहितको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको हो ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेताहरू रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, जीवन परियार सहभागी छन् ।

यस्तै, नेकपा (एमाले)का तर्फबाट कार्यदलका संयोजक समेत रहेका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, महेश बर्तौला सहभागी छन् । नेकपा (माओवादी केन्द्र)का तर्फबाट प्रधानमन्त्रीसहित अर्थमन्त्री वर्षमान पुन, हितराज पाण्डे सहभागी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट उपप्रधान एवं गृहमन्त्री समेत रहेका पार्टी सभापति रवि लामिछाने, स्वर्णिम वाग्ले, सन्तोष परियारलगायत नेताहरू बैठकमा सहभागी रहेका प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

संसदीय छानबिन समिति बनाउने विषयमा कार्यदलमा करिब सहमति भएको नेताहरूले बताएका छन् । कांग्रेसले गृहमन्त्री लामिछानेको नाम नै तोकेर समिति बनाउनुपर्नेमा जोड दिइरहेको छ । व्यक्तिकेन्द्रित समिति बनाउन नहुने सत्तापक्षको अडान छ । शीर्ष नेतासहितको आजको बैठकबाट यसअघि कार्यदलमा गरिएका छलफललगायत विषयलाई टुंगोमा पुर्‍याइने नेताहरूले बताएका छन् ।

प्रतिकृया