• 5:41 pm

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहरिएका इन्जिनियर पोखरेल मृत भेटिए

प्रकाशित मिति

२०८१ जेष्ठ ११ गते, शुक्रबार ०५:०७

जेठ ११, २०८१ काठमाडौँ: सुरक्षण मुद्रण केन्द्रले गरेको सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा भ्रष्टाचार भएको प्रकरणमा दोषी ठहरिएका एक जना कर्मचारी मृत फेला परेका छन् ।

सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल बिहीबार झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी परिसर, भक्तपुरले जनाएको छ । घरमा सुसाइड नोटसमेत फेला परेकाले आत्महत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

प्रहरी स्रोतका अनुसार, सुसाइड नोटमा आफ्नो मृत्युको जिम्मेवारी आफै भएको भन्दै कसैको दोष नरहेको लेखिएको छ । प्रहरी वृत्त, ठिमीका अनुसार, केएमसी मेडिकल कलेज दुवाकोटमा बिहीबारै उनको शवको पोष्टमार्टम भइसकेको छ । परीक्षणको प्रतिवदेन आउन बाँकी छ ।

पोखरेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गर्नुअघि वन तथा वातावरण मन्त्रालयमा उपसचिव स्तरमा कार्यरत थिए । पोखरेलसहित अन्य ४ जना सुरक्षण प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका थिए ।

विशेष अदालतले उनलाई ६ महिना कैदको सजाय सुनाएको थियो भने ५ करोड ८४ लाख ५५ हजार १ सय ५९ रुपैयाँ जरिवाना असुलको फैसला सुनाएको थियो । उनी गत वर्ष निलम्बनमा परेका थिए ।

बोलपत्र ठेक्का सम्झौता तथा भुक्तानी प्रकरणमा सहभागी ९ जनामाथि अख्तियारले मुद्दा दायर गरेको थियो । विशेष अदालतले केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल लगायतमाथि कसुर प्रमाणित भएको आदेश दिएको थियो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले फैसला गरेको थि यो।

प्रहरीले बताए अनुसार, घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिकृया