• 9:36 pm

कांग्रेस संसदीय दलको बैठक बस्दै, संसदमा भएको ‘धकेलाधकेल’ बारेपनि छलफल हुने

प्रकाशित मिति

२०८१ जेष्ठ ४ गते, शुक्रबार ०९:२४

जेठ ४, २०८१ काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ। त्यसअघि संसदीय दल कार्यसमितिको बैठक हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने बैठकमा आजै बिहान ११ बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठकमा पार्टी कसरी प्रस्तुत हुनेलगायत विषयमा छलफल हुने संसदीय दलको कार्यालयले जनाएको छ।

साथै, प्रतिनिधिसभाको बिहीबारको बैठकमा भएको घटनाका सम्बन्धमा पनि छलफल हुने बताइएको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा कांग्रेस सांसदहरुले बेल घेराउ र नाराबाजी गरिरहेका बेला सभामुखले नियमित कार्यसूचीमा प्रवेश गरी उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र कांग्रेसका सांसदबीच ‘धकेलाधकेल’ भएको थियो।

कांग्रेसले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेको समेत संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ। छानबिन समिति गठन नभएको भन्दै उसले संसद् बैठक अवरुद्ध गर्दै आएको छ।

कांग्रेस महामन्त्री गगनकुमार थापाले बिहीबार सहकारीको रकम अपचलन गरेकालाई कारबाही गर्न निष्पक्ष छानबिन हुनुपर्ने तथा संसदीय समिति नबनेसम्म आफ्नो पार्टीले बैठक सञ्चालन हुन नदिने बताए।

कांग्रेसले सहकारीका बचतकर्ताको रकम फिर्ता दिलाउनुपर्ने र सहकारीको रकम अपचलनमा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै आएको छ।

प्रतिकृया