• 1:23 pm

कैलालीको जानकी गाउँपालिका–९ मा सामाजिक सुरक्षा भत्तामा ९ करोड भ्रष्टाचार भएको अभियन्ताहरुको आरोप

प्रकाशित मिति

२०८१ जेष्ठ ३ गते, बिहीबार ०५:०२

जेठ ३, २०८१ काठमाडौँ: भ्रष्टाचारविरुद्धको सामाजिक अभियानले कैलालीको जानकी गाउँपालिका–९ मा सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार भएको खुलासा गरेको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर अभियन्ताहरुले जानकी गाउँपालिका–९ मा एउटै नागरिकताबाट दोहोरो परिचय पत्र बनाएर र मृत्यु भइसकेको मानिसहरुको नाममा सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार भएको बताएका हुन् ।

सामाजिक अभियन्ता, भ्रष्टाचारविरुद्धको अभियानका संयोजक कृष्ण सोडारीले वडा अध्यक्ष खकेन्द्र भण्डारी र वडा सचिव प्रेमबहादुर बुढाको मिलेमत्तोमा ९ करोड बढी भ्रष्टाचार भएको बताए । आर्थिक वर्ष २०७४/०७५ देखि ०७७/०७८ सम्मको अवधिमा उक्त भ्रष्टाचार भएको उनको दाबी छ । अभियन्ता भण्डारीले वडा अध्यक्ष भण्डारी र वडा सचिव बुढाले ४६५ जना नक्कली सेवाग्राही खडा गरेर भ्रष्टाचार सो अवधिमा भ्रष्टाचार गरेका आरोप लगाए ।

सामाजिक सुरक्षा भत्तामा भएको भ्रष्टाचारबारे आफूहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कन्चनपुरमा २०७९ साउन १० मा उजुरी दिएपनि प्रभावकारी छानविन नभएको उनको गुनासो छ । २०७४ को स्थानीय तह निर्वाचनमा निर्वाचित भएको वडा अध्यक्ष भण्डारी ०७९ को निर्वाचनमा पनि दोहोरिएका थिए । सो बेलादेखि वडा सचिव बुढा अहिलेसम्म सोही वडामै कार्यरत छन् ।

त्यसैगरी, अभियन्ता युवराज पौडेल ‘सफल’, हेमबहादुर खड्का, रामहरि दाहाल, भक्त बहादुर विकलगायतले उक्त भ्रष्टाचार प्रकरणको सत्यतथ्य छानविन गरेर दोषीउपर कानुनी कारबाही हुनुपर्ने बताए । दोषीमाथि कारबाही नभएसम्म आफूहरु निरन्तर लागिरहने पनि उनीहरुले प्रतिवद्धता व्यक्त गरे । यस विषयमा हामीले वडा अध्यक्ष भण्डारीसँग प्रतिक्रिया लिँदा उनले उक्त आरोप अस्वीकार गरे । उनले अभियन्ता सोडारी स्थानीय तह निर्वाचनको प्रतिस्पर्धी रहेका पनि खुलासा गरे । सोडारीले पराजयको विक्षिप्त मानसिकता देखाइरहेको समेत वडा अध्यक्ष भण्डारीले बताए ।

‘यो आरोपमा कुनै सत्यता छैन । सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण भइरहेको छ । बैंकमा मृत्यु भइरकेका मानिसहरुको खाता खोल्न सम्भव छ र ? यो राजनीतिक पूर्वाग्रहको उपज हो,’– वडा अध्यक्ष भण्डारीले भने ।

प्रतिकृया