काठमाडौंमा आज पनि वर्षा, भोलिबाट मौसम सुधार हुने
प्रकाशित मिति
२०८१ बैशाख ३१ गते, सोमबार ०८:५७
वैशाख ३१, २०८१ काठमाडौँ: काठमाडौंमा आज पनि वर्षा हुने भएको छ । केही स्थानमा भने बिहानैबाट वर्षा सुरु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत काठमाडौंका केही स्थानमा बिहानै वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
“दिउँसो पनि काठमाडौंमा वर्षा हुनेछ । दिनभर काठमाडौंको मौसममा बदली हुनेछ,” मौसमविद् शरोज पुडाशैनीले बाह्रखरीसँग भने, “काठमाडौंमा छिटपुटदेखि हल्का वर्षा हुनेछ ।”
सुदूरपश्चिम प्रदेशको धनगढीलगायत क्षेत्रमा पनि वर्षा भइरहेको छ । कोसी, वाग्मती, गण्डकी प्रदेशका केही स्थानमा पनि अहिले वर्षा भइरहेको उनको भनाइ छ ।
“आज वर्षा भए पनि हिजोको जस्तो देशका धेरै स्थानमा भने वर्षा हुने छैन । हिजो देशका अधिकांश स्थानमा पानी परेको थियो । कतिपय स्थानमा भारी वर्षा पनि भएको थियो,” उनले भने, “तर आज भने त्यति धेरै भारी वर्षाको सम्भावना छैन । तर वर्षा भने हुनेछ ।”
भोलिबाट भने मौसममा केही सुधार हुनेछ । “भोलिबाट मौसममा केही सुधार हुनेछ । बुधबारबाट भोलिभन्दा थप सुधार हुनेछ,” उनले भने ।
नेपालमा अहिले स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको समेत प्रभाव रहेको छ । जसका कारण वर्षाको भइरहेको हो । बंगालको खाडीबाट आएको जलवास्पयुक्त वायुले वर्षा गराइरहेको मौसमविद् पुडाशैनीले बताए ।
विभागले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । पहाडी भू–भागका थोरै स्थानमा साथै तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
विभागले राति कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
कोसी प्रदेशलगायत वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
प्रतिकृया