कांग्रेसले समितिका नाममा सरकार माग्यो : एमाले
प्रकाशित मिति
२०८१ बैशाख ३० गते, आईतवार ०३:५१
वैशाख ३०, २०८१ काठमाडौँ: नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्ताैलाले नेपाली कांग्रेसले संसदीय समितिका नाममा सरकार मागेको टिप्पणी गरेका छन् । आइतबार सभामुख देवराज घिमिरेसहित दलका प्रमुख सचेतकसँगको बैठकपछि उनले कांग्रेसको माग सम्बोधन नहुने बताए ।
“उहाँहरूले समिति माग गर्नुभएको होइन, सरकार माग गर्नुभएको हो । त्यो सम्भव छैन,” उनले भने ।
उनले कांग्रेसले उठाएको विषय कानुनसम्मत नरहेको जिकिर गरे । हरेक विषयमा छानबिन समिति बनाउँदै जाँदा सांसद समितिमा मात्र रहनुपर्ने अवस्था आउने उनको भनाइ छ ।
बर्तौलाले समितिका नाममा कानुन निर्माणको दायित्वबाट सांसद च्युत हुन नसक्ने बताए । उनले कांग्रेसले संसद्लाई बेकामे बनाउन खोजेको आरोप समेत लगाए ।
सहकारीको बचत हिनामिना प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने मुछिएको भन्दै कांग्रेसले छानबिनका निम्ति संसदीय समिति गठनको माग गरिरहेको छ ।
प्रतिकृया