• 12:20 pm

ऋण लिएको प्रमाणित गर्न गगन थापालाई गृहमन्त्री लामिछानेको चुनौती

प्रकाशित मिति

२०८१ बैशाख २९ गते, शनिबार ०८:४९

वैशाख २९, २०८१ काठमाडौँ: उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूले निवेदन दिएर सूर्यदर्शन सहकारीबाट ऋण लिएको कुरा प्रमाणित गर्न नेपाली काँग्रेसका महामन्त्री गगन थापालाई चुनौती दिएका छन्।

शुक्रवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले आफूले हस्ताक्षरसहितको निवेदन दिएर सूर्यदर्शन सहकारीबा ऋण लिएको कुरा प्रमाणित गर्न चुनौती दिएका हुन्।

उनले गगन थापाले भनेजस्तै प्रमाण पेश गर्न सकेमा आफूले राजनीति छोड्ने बताए। उनले प्रमाण दिन नसकेमा गगन थापालाई राजनीति छाड्न चुनौती दिए।

उनले संसदीय छानविन समिति बनाउने कुरा सामान्य भएको भन्दै बनाउन सकिने धारणा पनि राखे। उनले आफू प्रमाणसहित कोही आएमा राजनीति छोड्न तयार रहेको भन्दै समिति नबनाउन नभनेको बताए। उनले चुनौती स्वीकार गरेर दुई जनाको राजनीति दाउमा लगाउन तयार हुन थापालाई आग्रह गरे।

उनले भने,– ‘माननीय गगनकुमार थापाले मलाई आज गृहमन्त्रीले आफैँले ऋण मागेर कागज गरेर, हस्ताक्षर गरेर ऋण माग्नुभयो। मसँग प्रमाण छ, भनेर उनले भन्नुभयो। ल मेरो चुनौती उहाँलाई, उनले त्यो प्रमाण दिनुभएछ भने, संसदीय समिति त कुनै ठूलो कुरो होइन तत्काल, यसैपनि मैले बोल्न पाएको भए कुरा अर्कै रहन्थ्यो। म केही कुरा भनिहाल्थेँ। त्यो त कुनै ठूलो कुरा थिएन। मात्र मैले एकपटक बोल्न खोजेको थिएँ। अब म गगनजीलाई एउटा चुनौती दिन चाहन्छु।’

गृहमन्त्री लामिछानेले आफ्नो कुरा संसदबाट सुन्न काँग्रेस डराएको बताए। आफूले संसदमा बोल्न पाएमा सबै कुरा स्पष्ट ढंगले राख्ने उनको भनाइ छ।

प्रतिकृया