आज दुई प्रदेशमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
प्रकाशित मिति
२०८१ बैशाख २८ गते, शुक्रबार ०८:५४
वैशाख २८, २०८१ काठमाडौँ: अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोसी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने मौसम महाशाखाले जनाएको छ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
महाशाखाका अनुसार कोसी प्रदेश र वाग्मती प्रदेशसहित देशको पहाडी भू–भागको थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
अहिले नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव महाशाखाले जनाएको छ ।
आज राति पनि कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली भई लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ । वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानका साथै बाँकी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यसैगरी कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिकृया