निर्मल लामा असल राजनीतिज्ञ हुनुहुन्थ्योः प्रधानमन्त्री प्रचण्ड
प्रकाशित मिति
२०८१ बैशाख २७ गते, बिहीबार ०१:२२
वैशाख २७, २०८१ काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट नेता निर्मल लामा एक असल राजनीतिज्ञ भएको बताएका छन् ।
बिहीबार बिहान नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित २४ औँ स्मृति दिवस कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।
कार्यक्रममा प्रधानमन्त्री भने, ‘निर्मल लामा नेपाली कम्युनिस्ट आन्दोलनको एक प्रेरणादायी व्यक्तित्व हो । मुख्यतः २०३३/०३४ सालतिर नेपालमा जनवादी क्रान्तिको बहसका सन्दर्भमा उहाँले प्रस्तुत गर्नुभएको विचार महत्वपूर्ण छन्। कम्युनिस्ट आन्दोलनको विकास र रणनीति एवं कार्यदिशामा उहाँ आदर्श नेता हुनुहुन्थ्यो ।’
प्रधानमन्त्रीले निर्मल लामाको जीवनबाट नेपालका कम्युनिस्ट नेताले प्रेरणा लिएको समेत बताएका छन् । उनले थप भने, ‘उहाँ पारदर्शी नेता हुनुहुन्थ्यो, खुला हुनुहुन्थ्यो, आफ्नो निष्ठामा दृढ र गरिखाने वर्गप्रति प्रतिबद्ध हुनुहुन्थ्यो। राम्रो विचार र स्पष्टवक्ता हुनुहुन्थ्यो । समग्रमा उहाँ एक असल राजनीतिज्ञ हुनुहुन्थ्यो ।’
कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ लगायत माओवादी नेताको सहभागिता थियो ।
प्रतिकृया