• 10:38 pm

जाजरकोट भूकम्पपछि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा ३६ करोड ३६ लाख जम्मा

प्रकाशित मिति

२०८१ बैशाख २७ गते, बिहीबार ०९:००

वैशाख २७, २०८१ काठमाडौँ: गत कात्तिक महिनामा जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएपछि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा ३६ करोड ३६ लाख ९४ हजार ६४ रुपैयाँ जम्मा भएको छ ।

१४५ भन्दा बढी संघसंस्था तथा व्यक्तिहरूले भूकम्पपीडितलाई सहयोग गर्ने उदेश्यले उक्त रकम कोषमा जम्मा गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार उक्त रकम २०८० कात्तिक १८ गतेदेखि २०८१ वैशाख २१ गतेसम्मको अवधिमा जम्मा भएको हो ।

२०८० कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण संरचना भत्किँदा १५४ जनाको मृत्यु भएको थियो भने साढे तीन सयभन्दा बढी घाइते भएका थिए । भूकम्पले ६० हजारभन्दा बढी घरमा क्षति गरेको थियो ।

भूकम्पले जनधनको ठूलो क्षति गरेपछि सरकारले भूकम्पपीडितको सहयोगार्थ कोषमा रकम जम्मा गर्न अनुरोध गरेको थियो । त्यसपछि विभिन्न संघसंस्था तथा व्यक्तिले कोषमा रकम जम्मा गरेका हुन् ।

प्रतिकृया