इमरान अर्को महिना जेलमुक्त हुनसक्ने, सेनासँग भयो यस्तो सम्झौता
प्रकाशित मिति
२०८० चैत्र २७ गते, मंगलवार ०३:३०
चैत्र २७, २०८० काठमाडौँ: पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अर्को महिना जेलमुक्त हुनसक्ने सम्भावना रहेको छ । स्रोतका अनुसार इमरानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) र सेनाबीच यस सम्बन्धमा सम्झौता भएको छ ।
इमरानको तर्फबाट खैबर पख्तुनख्वाका मुख्यमन्त्री अली अमीनले गत शनिबार पेशावरमा आर्मी कोर्प्स कमाण्डरसँग इफ्तार भोजमा सम्झौतालाई अन्तिम रूप दिएका छन् । मुख्यमन्त्री अमिनले यसअघि रावलपिंडीको अदियाला जेलमा इमरानसँग भेट गरेका थिए ।
दैनिक भास्करमा प्रकाशित रिपोर्टका अनुसार यो सम्झौता अन्तर्गत इमरानलाई पहिले जेलबाट घरमै नजरबन्दमा राखिने छ । इफ्तार पार्टीमा भाग लिने एक वरिष्ठ पीटीआई नेताले भने, ‘सेना प्रमुख असिम मुनीरले छलफलको लागि कोर कमाण्डर नियुक्त गरेका थिए ।’
सम्झौताको सबैभन्दा महत्त्वपूर्ण सर्त भनेको इमरानले सेनाको विरुद्धमा बयान दिन बन्द गर्नु हो । सम्झौताअनुसार इमरानले केही सेनाका अधिकारीहरूविरुद्ध मात्र बयान दिन पाउनेछन् । तर, सेना प्रमुखलाई सीधै निशाना बनाउन अनुमति छैन ।
यससँगै अब इमरान र उनकी श्रीमती बुशरा बेगमले तोशाखाना मुद्दामा १४ वर्षको जेलमा जमानत पाउने भएका छन् । त्यसपछि गोप्य कागजात चोरीको मुद्दामा १० वर्ष जेल सजायमा पनि जमानत दिइनेछ । स्रोतका अनुसार इमरानविरुद्ध जमिन हडप्ने अल कादिर मुद्दा भने जारी रहनेछ ।
यदि इमरानले सेनासँगको सो सम्झौता तोडे, उनलाई अल कादिर मुद्दामा फेरि जेल पठाइनेछ । नवाज शरीफको मामलामा इमरानकाे हकमा पनि दोहोरिएको राजनीतिक विश्लेषक मजहर बताउँछन् ।
‘जति गतिमा मुद्दा दर्ता हुन्छ, त्यसै गतिमा मुद्दाहरू समाप्त हुन्छन्’, मजहर भन्छन्, ‘पाकिस्तानको राजनीतिमा जुन गतिमा राजनीतिज्ञहरूविरुद्ध मुद्दा दर्ता हुन्छन्, ती मुद्दाहरू पनि समाप्त हुन्छन् । यो नवाज शरीफको मामलामा प्रमाणित भएको छ, इमरानको मामलामा पनि त्यस्तै हुनसक्छ।’
सम्झौताअनुसार पीटीआईले कोर कमिटी पुनर्गठन गर्ने अनुमति पाएको छ । इमरानलाई बाहिर निकालेर भविष्यमा वर्तमान शाहबाज सरकारलाई पनि सन्तुलनमा राख्न सेनालाई चुनौती थपिएको छ । इमरानलाई सबै मुद्दामा गरी ३४ वर्षको जेल सजाय सुनाइएको छ । उनी विगत ८ महिनादेखि पाकिस्तानको जेलमा छन् ।
उनले पहिलो पटक तोशखाना मुद्दामा ३ वर्षको जेल सजाय पाएका थिए । यसपछि गत फेब्रुअरीमा भएको निर्वाचनको केही दिनअघि खानलाई ३ मुद्दामा कुल ३१ वर्षको जेल सजाय सुनाइएको थियो ।
जसमा तोशाखानासँग सम्बन्धित अर्को मुद्दा, गोप्य चिठी चोरी मुद्दा र बुशरासँग अवैध विवाह मुद्दा पर्छन् ।
प्रतिकृया