• 7:25 pm

गृहमन्त्रीको विषयमा कांग्रेसी अडान कायमै, सभामुखसँगको छलफल निष्कर्षविहीन

प्रकाशित मिति

२०८० चैत्र २६ गते, सोमबार ०४:१६

चैत्र २६, २०८० काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबारे छानबिन गर्नुपर्ने मागमा आफ्नो अडान कायम राखेको छ । सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै लामिछानेको विषयमा छानबिनका लागि समिति मागसहित कांग्रेसले निरन्तर संसद अवरोध गर्दै आइरहेको छ ।

सभामुख देवराज घिमिरेले कांग्रेसको अडानपछि आज प्रधानमन्त्रीसहित अन्य दलका शीर्ष नेताहरुसँग छलफल गरेका थिए । तर नेपाली कांग्रेसले सो अडान कायमै राखेपछि छलफल निष्कर्षविहीन बनेको हो । सिंहदरबारमा भएको छलफलपछि बोल्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नागरिकका विषयमा सरकार गम्भीर नरहेको भन्दै आफूहरुको माग यथावत कायमै रहेको बताए ।

उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, ‘हाम्रो कुरा यथावत् राख्यौं । लाखौं लाख नेपाली नागरिकको पैसा सहकारीमा पैसा बचत गरिएको छ । देशका सहकारीमा रकम अपचलन, ठगी भएको छ । यसमा बहालवाला मन्त्री मुछिनुभएको छ । अहिलेसम्म सदासहायतापूर्वक प्रस्तुत भएर आफ्नो माग राखेका छौं । संसद अवरोध गरेका छैनौं । तर, सरकार गैरजिम्मेवारपूर्ण तरिकाले प्रस्तुत भइरहेको छ । नागरिकको बिचल्लीप्रति सरकार संवेदनशील भएको छैन । संसदीय समितिको न्यूनतम माग गर्दा सुनुवाइ भएको छैन । अब संसदका बैठक र काम कारबाही अवरुद्ध भयो भने । त्यसको जिम्मा सरकारले लिनुपर्छ ।’

त्यस्तै एमाले प्रमुख सचेतक महेश बर्तौलाले महत्वपूर्ण विधेयकका विषयमा छलफल चलिरहेका कारण प्रमुख प्रतिपक्षी दलले पूर्वाग्रही र प्रमाणविहीन रुपमा आफ्ना मागहरु अघि सारेको आरोप लगाए । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै बर्तौलाले गृहमन्त्रीको विषय हल्का रहेको भन्दै त्यसमा छानबिन समिति बनाउन आवश्यक नरहेको जिकिर गरे ।

‘महत्वपूर्ण विधेयकमा छलफल भइरहेको बेला राजनीतिक पूर्वाग्रहमा तथ्य र प्रमाणविहीन माग उठाइएको छ । यस्ता हल्का विषयमा संसदीय समिति बनाउँदै जाने भए हामीले ठीक नजिर बसाउन सक्दैनौं । मागमा पुनर्विचार गर्नुस् भन्यौं । हाउसमा तथ्य र प्रमाणले सहयोग नगर्ने विषयमा समिति बनाउन सकिँदैन । भोलिको संसदको नियमित प्रक्रिया अघि बढ्छ’, बर्तौलाले भने ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले आफ्ना पार्टी सभापति समेत रहेका गृहमन्त्री लामिछानेविरुद्ध मिथ्या आरोप लगाइएको भन्दै बचाउ गरे ।

प्रतिकृया