अवैधरूपमा बसिरहेका १० बङ्गलादेशीलाई अध्यागमनमा बुझाइयो
प्रकाशित मिति
२०८० चैत्र २६ गते, सोमबार ०२:५२
चैत्र २६, २०८० काठमाडौँ: भिसा सकिएर नेपालमा अवैधरूपमा बसिरहेका १० जना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरी अध्यागमन विभागमा बुझाएको छ । विभिन्न मितिमा नेपाल प्रवेश गरी भिसा सकिए पनि गैरकानुनीरूपले बसोबास गर्नुका साथै शङ्कास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा खोजतलास गर्दा १० जना बङ्गलादेशी नागरिक पक्राउ परेका थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार प्रहरीको विशेष टोलीले काठमाडौंको सोह्रखुट्टे तथा ठमेल क्षेत्रबाट गैरकानुनी तवरले बसिरहेका उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ पर्नेमा मोहम्मद अनिशुर रहमान, मोहम्मद अब्दुल्ला, मोहम्मद इमाउल हसन, मोहम्मद हाफिज रहमान, सजिव हसन, सैफुल इस्लाम, मोहम्मद विलल हसन, मोहम्मद सलिम, मोहम्मद नासिर उद्दीन र मोहम्मद एसिन खान रहेका छन् ।
एसपी रेग्मीले पक्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सोमबार अध्यागमन विभाग, कालिकास्थान पठाइएको बताए । यसअघि पनि यसैगरी शङ्कास्पद गतिविधि गरिरहेको पाइएपछि प्रहरीले पाँच जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरी अध्यागमनलाई बुझाइएको थियो ।
पछिल्लो समयमा बङ्गलादेशी नागरिकलाई युरोप पठाउने भन्दै नेपालमा ल्याएर बन्धक बनाउने तथा अवैधरूपमा नेपाल बस्ने घटना देखिन थालेकाले निगरानी बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिकृया