पाँचौँपटक मन्त्री बन्दै मनाङे
प्रकाशित मिति
२०८० चैत्र २५ गते, आईतवार ०३:२०
चैत्र २४, २०८० काठमाडौँ: स्वतन्त्ररूपमा मनाङबाट निर्वाचित गण्डकी प्रदेशका सांसद राजीव गुरुङ ऊर्फ दीपक मनाङे सत्ता समीकरण जसरी फेरिए पनि मन्त्री हुने सांसदमा पर्छन् । उनी आइतबार पाँचौँपटक मन्त्री बन्दैछन् ।
पछिल्लो सत्ता समीकरणपछि त्यहाँ नेकपा (एमाले) का संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री बनेका छन् । उनले आइतबार ३ बजेपछि शपथ ग्रहण गर्नेलगत्तै सानो आकारको मन्त्रिपरिषद् बनाउनेछन्, जहाँ मनाङेको पनि नाम छ ।
मनाङे यसअघि नै चारपटक मन्त्री भइसकेका छन् । मनाङे यसअघिको प्रदेश सरकारको कार्यकालमा ४५ दिनमै तीनपटक युवा तथा खेलकुदमन्त्री बनेका थिए । २०७८ वैशाख १६ मा तत्कालीन पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा उनी पहिलोपटक मन्त्री बनेका थिए ।
मुख्यमन्त्री गुरुङले २०७८ वैशाख २९ मा राजीनामा दिएपछि मनाङे स्वतः पदमुक्त भएका थिए । त्यसपछि ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा पृथ्वीसुब्बा नै नियुक्त भए । त्यसबेला उनले पुरानै मन्त्रीलाई निरन्तरता दिएका थिए । त्यसपछि मनाङे पुन: सोही मन्त्रालयमा दोहोरिएका थिए ।
त्यसपछि कांग्रेस नेतृत्वको सरकार बनाउन निर्णायक मत दिएका मनाङेले २०७८ असार अन्तिममा गठबन्धन सरकारमा पनि सोही मन्त्रालयको जिम्मेवारी पाएका थिए । त्यसपछि संसद्को दोस्रो कार्यकालमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई गत चैत ५ मा भौतिक पूर्वाधारमन्त्री बनाएका थिए ।
यसपछि उनी पुन: मन्त्री बन्न लागेका हुन् । उनले पाउने मन्त्रालयबारे भने नटुङ्गिएको सांसदहरूले बताएका छन् ।
प्रतिकृया