• 5:21 pm

इलाम–२ मा रास्वपाबाट मिलन लिम्बूकाे उम्मेदवारी दर्ता

प्रकाशित मिति

२०८० चैत्र २५ गते, आईतवार १०:३३

चैत्र २४, २०८० इलाम : १५ वैशाखमा इलाममा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट मिलन योङहाङ लिम्बूले उम्मेदवारी दिएका छन् ।

लिम्बुले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिपी अर्याल, रास्वपा सांसद निशा डाँगी, रास्वपाका सह–महामन्त्रीद्वय कविन्द्र बुर्लाकोटी, तथा बिपिन आचार्यको उपस्थितिमा उम्मेदवारी दर्ता गराएका हुन् ।

इलाम बजारमा रहेको उम्मेदवार सम्पर्क कार्यालयबाट मन्त्री अर्याललगायत केन्द्रीय पदाधिकारी र समर्थकहरूले आफ्नो पार्टीको चुनाव चिन्ह घण्टी बजाउँदै र्‍यालीसहित मनोनयन दर्ता गराउन गएका हुन् ।

लिम्बूको प्रस्तावकमा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सह–संयोजक सन्तोष श्रेष्ठ तथा समर्थकमा तेजकुमार श्रेष्ठ रहेका छन् । उम्मेदवारी दिए लगत्तै पत्रकारहरुसँग प्रतिक्रिया दिने क्रममा लिम्बुले आफ्नो उम्मेदवारी आफ्नो मात्रै नभएर नागरिकको उम्मेदवारी भएको बताए ।

‘मेरो उम्मेदवारी मेरो मात्रै होइन यो इलामेली नागरिकको उम्मेदवारी हो ।’, उनले भने । लामो समयदेखि पत्रकारिता मार्फत नागरिकको मुद्दालाई जोडदार ढंगले उठाउँदै आएका लिम्बूको उम्मेदवारीलाई इलाम उपनिर्वाचनमा महत्वका साथ हेरिएको छ । पूर्व संविधानसभा अध्यक्ष तथा एमालेका वरिष्ठ नेता सुभास नेम्वाङको अप्रत्यासित निधनपछि इलाम– २ मा उपनिर्वाचन हुन लागेको हो ।

इलामको उपनिर्वाचनमा हालसम्म नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ र रास्वपाका उम्मेदवार लिम्बुबीच कडा टक्कर हुने आँकलन गरिएको छ ।

प्रतिकृया