• 6:43 am

बूढानीलकण्ठमा इलाम-२ का उपनिर्वाचनका आकांक्षीसँग देउवाले गरे छलफल

प्रकाशित मिति

२०८० चैत्र २० गते, मंगलवार १२:०६

चैत्र २०, २०८० काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इलाम-२ मा हुन लागेको उपनिर्वाचनका आकांक्षीहरूसँग छलफल गरेका छन् ।

मंगलबार बिहान इलाम-२ का आकांक्षीहरू डम्बर खड्का, भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल र रमेश लिङ्देनलाई बूढानीलकण्ठस्थित निवासमा बोलाएर सभापति देउवाले छलफल गरेका हुन् ।

१५ वैशाखमा हुन लागेको उपनिर्वाचनका लागि ७ जनाको नाम सिफारिस भएको छ । तीमध्येबाट एक जनालाई उम्मेदवार बनाउन सभापति देउवाले सहमतिको प्रयासका लागि छलफलमा बोलाएका थिए । तर, सभापति देउवासँगको छलफलमा उम्मेदवारका आकांक्षीले आआफ्नो अडान छोडेनन् ।

‘हामी सबैले आ-आफ्नो दाबी गरेका छौँ । सभापतिले तपाईंहरू जाँदै गर्नुस् हामी एक जनाको नाम फाइनल गर्छौं भन्नुभयो,’ उम्मेदवारका आकांक्षीसमेत रहेका भेषराज आचार्यले शिलापत्रसँग भने । उम्मेदवारको नाम टुंगो लगाउन कांग्रेसले आज दिउँसो ३ बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । त्यही बैठकले इलाम-२ को उम्मेदवार टुंगो लगाउनेछ ।

कांग्रेस कोशी प्रदेशले आकांक्षीहरू केशव थापा, डम्बर खड्का, भेषराज आचार्य, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम केन्द्रलाई सिफारिस गरेको छ ।

प्रतिकृया