• 7:04 pm

१५ दिने मिथिला माध्यमिकी परिक्रमा सम्पन्न

प्रकाशित मिति

२०८० चैत्र १२ गते, सोमबार ११:१६

चैत्र १२, २०८० जनकपुरधाम : १५ दिने ऐतिहासिक मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न भएको छ । फागुन प्रतिपदामा शुरू भएको परिक्रमा आज जनकपुरधामको अन्तरगृह परिक्रमासँगै सकिएको हो ।

आइतवार जनकपुर आइपुगेको परिक्रमा टोलीले राति जनकपुरधाममै विश्राम गरी आज अन्तरगृह परिक्रमा गरेको हो । जनकपुरधाम फर्किने परिक्रमा यात्री आज जनकपुरधामको ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान, तिरहुतियागाछी लगायत जनकपुरधामको विभिन्न स्थानमा बास बस्ने गर्दछन् ।

पञ्चकोसी भनेर चिनिने यस परिक्रमामा जनकपुरधामको नगर परिक्रमा गरिन्छ । अन्तरगृह परिक्रमामा सहभागी भए १५ दिने माध्यमिकी परिक्रमा सरह फल प्राप्त हुने धार्मिक विश्वास रहेको छ । अन्तरगृह परिक्रमामा पनि लाखौं भक्तजनले सहभागिता जनाउने गरेका छन् ।

आज लाखौंको संख्यामा साधुसन्त, महन्थ, स्थानीय तथा श्रद्धालुहरूले राम–जानकीको डोला लिएर जनकपुरधामको अन्तरगृह परिक्रमा गरेका थिए । अन्तरगृह परिक्रमाको दूरी ५ कोष रहेको छ । त्यसैले यसलाई ‘पञ्चकोशी परिक्रमा’ पनि भन्ने गरिएको हो ।

धनुषाको ठेरा कचुरीस्थित मिथिला बिहारी मठबाट निस्केको मिथिला बिहारीको डोला तथा जनकपुरधामको सुन्दर सदनबाट निस्केको किशोरीजीको डोला नेपाल र भारतको विभिन्न धार्मिक स्थलको परिक्रमा गर्दै आइतबार जनकपुरधाम फर्केर विश्राम गरेको थियो । मिथिला परिक्रमाको धार्मिक मान्यता संसारकै सबै तीर्थहरू भन्दामाथि रहेको शास्त्रमा उल्लेख छ ।

मिथिलाको महाकुम्भ मानिने १५ दिने मध्यमा परिक्रमा जनकपुरधामको हनुमान नगरस्थित हनुमानगढीबाट विधिवत रूपमा भारतको कल्याणेश्वर, गिरिजास्थान हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही हुँदै पुनः भारत बिहारको करूणा, विशौल हुँदै जनकपुरधाममा विश्राम गरेर अन्तरगृह परिक्रमा गरेसँगै माध्यमिकी परिक्रमा सम्पन्न भएको हो ।

यहाँ अन्तरगृह परिक्रमा सम्पन्न भएको भोलिपल्ट मात्रै होली खेल्ने प्रचलन छ ।

प्रतिकृया