गण्डकीमा नयाँ सरकार गठनमा राप्रपा निर्णायक
प्रकाशित मिति
२०८० फाल्गुन २९ गते, मंगलवार ११:१९

फागुन २९, २०८० गण्डकी : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले साथ नदिएसम्म गण्डकी प्रदेशमा नयाँ सत्तासमीकरण अनुसार सरकार बन्न सक्ने अवस्था छैन । नेकपा (एमाले)का २२, नेकपा (माओवादी केन्द्र)का सात (सभामुखबाहेक) र नेकपा (एकीकृत समाजवादी)का एक गरी ३० प्रदेशसभा सदस्य नयाँ गठबन्धन दलसँग छन् ।
कुल ६० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ३१ बहुमत सदस्यको समर्थन चाहिन्छ । गठबन्धनलाई बहुमत पुर्याउन एक प्रदेशसभा सदस्य अपुग भइरहेका बेला दुई प्रदेशसभा सदस्य रहेको राप्रपा सरकार निर्माणमा निर्णायक देखिएको छ । नयाँ सरकार गठनका लागि प्रदेशसभाको गणित अनुकूल नभएपछि गठबन्धनमा आबद्ध दलहरूले राप्रपाको साथ खोजेका छन् । एमाले र माओवादी केन्द्रका नेताहरूले राप्रपासँगको संवादलाई अगाडि बढाएका छन् ।
एमाले प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले राप्रपाले गठबन्धनलाई समर्थन गर्ने दाबी गरे । “राप्रपाले गण्डकी प्रदेश सरकार गठनमा सहयोग गर्नेमा हामी ढुक्क छौँ, जिम्मेवार दलका रूपमा राजनीतिक स्थिरताका लागि भूमिका खेल्नु उसको पनि दायित्व हो”, उनले भने, “विगतदेखि नै राप्रपासँग सहकार्य हुँदै आएको हो, अहिले पनि मिलेरै अगाडि बढ्ने वातावरण तयार हुँदैछ ।”
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको निर्णयले पनि गण्डकीमा गठबन्धनलाई सरकार गठन गर्न सहज हुने देखिएको प्रमुख सचेतक नेपालीले बताए । सोमबारको बैठकबाट सङ्घ सरकारलाई समर्थन नगर्ने निर्णयमा पुगेको राप्रपाले प्रदेश सरकारलाई समर्थन गर्नुपर्ने परिस्थिति आएमा भने पार्टी अध्यक्षले सम्बन्धित प्रदेशसँग परामर्श गरेर उपुयक्त निर्णय लिनसक्ने निष्कर्ष निकालेको थियो ।
“राप्रपा वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने, विपक्षमा मतदान गर्ने र विपक्षमा बस्ने निर्णय गरिएको छ । प्रदेश सरकारमा पनि तत्काल सहभागी नहुने, समर्थन गर्नुपर्ने परिस्थिति आएमा पार्टी अध्यक्षले उपयुक्त समयमा सम्बन्धित प्रदेशको परामर्श लिएर निर्णय लिने निर्णय गरिएको छ”, राप्रपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिकृया