मान्छेको मस्तिष्कमा न्यूरालिङ्कको ताररहित चिप राखिएको इलोन मस्कको घोषणा
प्रकाशित मिति
२०८० माघ १६ गते, मंगलवार ०३:३७

माघ १६, २०८० काठमाडौँ: इलोन मस्कले आफ्नो कम्पनी न्यूरालिङ्कले निर्माण गरेको एउटा ताररहित ब्रेन चिप पहिलो पटक मानवमा सफलतापूर्वक प्रत्यारोपण गरिएको घोषणा गरेका छन् ।
उनका अनुसार प्रारम्भिक नतिजाले न्यूरोन अर्थात् स्नायुकोशिकामा उत्साहप्रद सङ्केत देखाएको छ र उक्त चिप प्रत्यारोपण गरिएका बिरामीको अवस्थामा सुधार भइरहेको छ।
न्यूरालिङ्क कम्पनीले मानव मस्तिष्कलाई कम्प्युटरसँग जोड्ने उद्देश्य राखेको छ। स्नायुप्रणालीसँग सम्बन्धित जटिल अवस्थालाई निराकरण गर्न आफूले सघाउन खोजेको उसले जनाएको छ ।
अरू केही कम्पनीले यसअघि नै त्यस्ता उपकरणहरू मानिसको शरीरमा प्रत्यारोपण गरिसकेका छन् । बीबीसी न्यूजले न्यूरालिङ्क र स्वास्थ्यसम्बन्धी अमेरिकी नियामक निकाय फूड एन्ड ड्रग अड्मिनिस्ट्रेशन (एफडीए) लाई प्रतिक्रियाका लागि सम्पर्क गरेको छ ।
गत मे महिनामा एफडीएले मस्कको कम्पनीलाई मानवमा चिप परीक्षण गर्ने अनुमति दिएको थियो। त्यस्तो अनुमति पाउन न्यूरालिङ्कले निकै सङ्घर्ष गर्नुपरेको थियो । अनुमति पाएपछि न्यूरालिङ्कले छ वर्ष चल्ने अध्ययन आरम्भ गर्न पायो ।
ब्रेन चिपले कसरी काम गर्छ?
यो अध्ययनमा एउटा रोबटले शल्यक्रियामार्फत् ६४ वटा लचिला त्यान्द्रा मानिसको मस्तिष्कमा राख्ने न्यूरालिङ्कले जनाएको छ। त्यस्ता त्यान्द्रा मानिसको रौँभन्दा पातला हुन्छन् ।
ती त्यान्द्रा “हिँडडुल गर्ने आशय” नियन्त्रण गर्ने मस्तिष्कको एउटा भागमा राखिन्छ । न्यूरालिङ्कका अनुसार ती त्यान्द्राले मस्तिष्कबाट निस्किने सङ्केत एउटा एपमा तारबिनै प्रसारित गर्न र तिनको अभिलेख राख्न सघाउँछन् ।
त्यो उपकरण ब्याट्रीबाट चल्छ। मस्तिष्कबाट सङ्केत पाउने एपले मानिसले कसरी चल्न वा हिँडडुल गर्न चाहेको छ भन्ने छुट्ट्याउँछ। बीबीसी
प्रतिकृया