• 2:54 pm

विदेशबाट फर्किएर उद्यम गर्न चाहनेलाई कर्जा र काउन्सिलिङ दुवै दिन्छौँ : सीईओ ढुङ्गाना

प्रकाशित मिति

२०८० माघ १४ गते, आईतवार ०१:००

माघ १४, २०८० काठमाडौँ: नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले विदेशबाट नेपाल फर्किएर केही गर्न चाहने व्यक्तिहरूका लागि कर्जा मात्र नभएर आवश्यकीय काउन्सिलिङ पनि गर्ने बताएका छन् । बिहीबार नबिल दक्ष प्रवासी उद्यमशीम कर्जाको औपचारिक शुभारम्भ कार्यक्रममा बोल्दै उनले आप्रवासी कामदारहरूको लागि नबिल बैंकले विशेष कर्जा ल्याएको बताएका हुन् । कार्यक्रममा बोल्दै उनले नबिल बैंकले विगतका समयमा विभिन्न प्रकारका कर्जाहरू विस्तार गर्दै आइरहेको भन्दै त्यसमा थप नयाँ प्रकारको कर्जा पनि थपेको बताए ।

बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ योजना सार्वजनिक गरेका हुन् । मन्त्री भण्डारीले बैंकको यस्तो योजनाले विदेशिएका दक्ष र बौद्धिक जनशक्तिलाई नेपालमा फर्काउन ठुलो मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘सरकारले विदेशिएका नेपालीलाई नेपाल फर्किएर व्यवसाय सुरू गर्न प्रोत्साहित गरिरहेको अवस्थामा नबिल बैंकले ल्याएको यो योजनाले थप टेवा पुर्‍याउने मेरो विश्वास छ ।’

विदेशबाट सीप सिकेर नेपाल फर्किएका व्यक्तिहरूका लागि यो कर्जा उपयुक्त हुने उनको भनाइ छ । आप्रवासी कामदारहरू स्वदेश फर्किएर केही गर्ने सोच बनाइरहेका छन्, अब उनीहरूको सपना हामी साकार पार्छौँ । उनले भने, ‘‘नबिल बैंकले उनीहरूलाई कर्जा मात्र दिँदैन आवश्यक सल्लाह, सुझावसहित काउन्सिलिङ पनि गर्छौँ ।’’

विदेशबाट केही गर्ने सपना बोकेर नेपाल फर्किएका युवाहरूलाई लक्षित गरेर उक्त कर्जा नबिल बैंकले ल्याएको हो । विदेशबाट सीप सिकेर आएका व्यक्तिहरूको सीपलाई सम्मान साथ व्यवसायमा ढाल्न महत्त्वपूर्ण भूमिका खेल्ने बैंकको उद्देश्य रहेको उनको भनाइ छ ।

श्रम मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले मिडियामा विदेशिएका नेपालीहरूको मात्र समाचार बन्ने र फर्केका नेपालीहरूको नबन्ने गरेको बताए। उनले विदेशबाट फर्केका नेपालीहरूको सीपको सम्मानमा उद्यम गर्ने वातावरण बनाउन नबिलले ल्याएको यो कार्यक्रम अहिलेको आवश्यकता रहेको बताए।

नेपाल फर्केका नेपालीहरूको पुँजी र सीपको उपयोग गर्न सरकारले विभिन्न पहलहरू गर्दै आएको जानकारी दिँदै नबिलले पनि साथ दिएकोमा उनले आभार व्यक्त गरे।

प्रतिकृया