• 7:50 am

एकीकृत समाजवादीको राष्ट्रिय सम्मेलन आजदेखि

प्रकाशित मिति

२०८० माघ १४ गते, आईतवार ०८:३४

माघ १४, २०८० काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को राष्ट्रिय सम्मेलन आज सुरु हुँदैछ । आज बिहान साढे ११ बजे काठमाडौँको प्रज्ञा भवन कमलादीमा सुरु हुने सम्मेलनमा पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण, कार्ययोजनासहितको विधान मस्यौदामाथि छलफल केन्द्रित हुनेछ ।

पार्टीले विधानको मस्यौदा तयार पार्न उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो । सम्मेलनले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलित नेतृत्व तथा कानुनी अस्पष्टतालाई मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी तोक्ने उपमहासचिव खतिवडाले जानकारी दिए ।

पार्टीको पदाधिकारी, केन्द्रीय कमिटीको काम, कर्तव्य तथा अधिकारको बाँडफाँड गर्ने बैठकले पार्टी नेतृत्वका लागि उमेर, कार्यकाल, सङ्गठन निर्माणमा गरेको योगदानलगायतका आधारमा मापदण्ड तय गर्ने छ ।

सम्मेलनले मस्यौदा अनुमोदन गरेपछि पार्टीले त्यसैका आधारमा आगामी जेठ पहिलो साता पार्टीको महाधिवेशन गर्नेछ । पार्टी सदस्यता नवीकरण तथा वितरण अभियानका रूपमा अगाडि बढाउनुका साथै जिल्लास्थित समाजवादी मोर्चाको बैठक र एजेण्डाको बारेमा समेत सम्मेलनमा छलफल हुने खतिवडाको भनाइ छ ।

राष्ट्रिय सम्मेलनले भोलिसम्म चल्नेछ । एकीकृत समाजवादीले आगामी जेठ ३ गतेदेखि पहिलो राष्ट्रिय महाधिवेशन गर्दैछ।

प्रतिकृया