• 12:24 pm

भारत विश्वको तेस्रो राष्ट्र बन्ने लक्ष्यका साथ अगाडि बढिरहँदा नश्लवादी शासकहरुले नेपाल बन्न दिएनन्ः राजेन्द्र महतो

प्रकाशित मिति

२०८० माघ १२ गते, शुक्रबार ०२:४०

माघ १२, २०८० काठमाडौँ: लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले छिमेकी मुलुक भारत आफूलाई विश्वको तेस्रो सम्पन्न राष्ट्रको रुपमा उभ्याउने लक्ष्यका साथ अगाडि बढिरहेको बताएका छन् । आज (बिहीबार) भारतको ७५औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित ‘नेपाल–भारत सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले छिमेकी मुलुक भारतले द्ुनियाँमा समृद्ध र सम्पन्न राष्ट्रको रुपमा आफूलाई स्थापित गराउँदै गर्दा नेपालका नेताहरुले भने नेपाललाई दुनियाँको सबैभन्दा विपन्न १० वटा राष्ट्रको रुपमा पुर्याएको बताए ।

‘भारत दुनियाँको समृद्ध राष्ट्रको दर्जा पाँचौबाट तेस्रोमा पुग्ने लक्ष्य लिएर अगाडि बढेको छ । उसको अर्थ व्यवस्था, आर्थिक अवस्था दुनियाँको पाँचौं अवस्थामा छ ।’ उनले भने, ‘भारत हाम्रो छिमेकीले द्ुनियाँका समृद्ध र सम्पन्न राष्ट्रको रुपमा आफूलाई स्थापित गर्यो । हामी कहाँ गयौं त ? हामीले के स्थापित गर्यौं त ? हामी नेपाली बहादुरहरु, हामीले के–के बहादुरी गर्यौं त ? दुनियाँको सबैभन्दा विपन्न १० वटा राष्ट्रको दर्जामा हामी बहादुरहरुले नेपाललाई पुर्यायौं । यही हाम्रो बहादुरी हो ।’

नेपाललाई प्रकृतिले बरदान दिएको भएपनि त्यसको सही सदुपयोग गर्न नसकिएको उनले बताए । उनले नेपालमा जलस्रोत र पर्यटनको ठूलो सम्भावना भएपनि त्यसलाई उपयोग गर्न नसकिएको कारण देशको समृद्धि र विकास हुन नसकेको बताए । उनले पर्यटनको मामलामा नेपाल स्वीजरल्याण्ड भन्दा पनि राम्रो रहेपनि विकास हुन नसकेको बताए । उनले ठूला दलका नेताहरुले नेपाली जनतालाई कंगाल बनाएर राजनीति गरिरहेको टिप्पणी गरे । नेता महतोले भने, ‘हामी कसम आएका छौं कहिल्यै पनि नसुध्रिने ? नेपाली जनतालाई कंगाल बनाएर राजनीति गरिरहने ? किन नेपाल अगाडि बढ्न नसकेन ? प्रकृतिले त बरदान दिएको हो त ? ब्राजिलपछि दोस्रो स्थानमा आउँदो रहेछ नेपाल । जलस्रोतलाई प्रयोग गरेको भए नेपाली जनता दुनियाँको सम्पन्न राष्ट्रको नागरिक हुने थियो ।’

देशको राजनीति भ्रष्ट भएको र देशलाई समृद्धि र विकासको बाटोमा लान नसकिएको उनले बताए । देश विकास नभइरहँदा र भ्रष्टाचार मौलाइरहँदा मिडिया पनि पार्टी र नेताको बनेर निश्पक्ष मूल्याङ्न गर्न नसकिरहेको र जनतालाई सही सूचना नदिएको उनले आरोप लगाए ।

भारतमा १० वर्ष मोदीको शासन कालमा काण्ड नसुनिएको बताउँदै उनले नेपाल काण्डैकाण्डको देश बन्दा विकास हुन नसकेको बताए । उनले कांग्रेस, माओवादी र एमालेले काण्डैकाण्ड मच्चाएको बताए । ‘नेपालमा त काण्डैकाण्ड । लेख्नुहुन्न, काण्डैकाण्ड । काण्ड पनि कुन–कुन काण्ड हो कुन–कुन काण्ड हो । सबै काण्ड तपाईँहरुलाई थाहा छ । त्यो काण्ड गरेको कसले हो ? रक्षकनै भक्षक भएको हो कि होईन ? जो शासक हो ठूलाबडा पार्टी भनाउँदा कांग्रेस, एमाले, माओवादी यही होईन ? अनि सारा काण्ड यही पार्टीभित्र भएको हो कि होईन ? जनतालाई लुट्ने, देशलाई लुट्ने काम भएको छ । अनि देश कसरी बन्छ ? सिक्नु परेन अरुबाट । आफ्नो गोरुको बाह्रै टक्का ? देश समृद्धि तर्फ कसरी जान्छ ?’ उनले प्रश्न गरे ।

नेपाल सबै नेपालीको लागि नबनेसम्म देश विकास नहुने उनको दाबी छ । नश्लवादी शासकहरुले देश बन्न नदिएको उनको आरोप छ । ‘जबसम्म नेपाल सबै नेपालीको लागि बन्दैन । हिमाल, पहाड, तराई, मधेशमा बस्ने सबै वर्ग, जाति समुदायको लागि जबसम्म नेपाल बन्दैन तबसम्म नेपाल बन्दैन । ढुक्क भएर बस्नुस् ।’ उनले भने, ‘यहाँका नश्लवादी शासकहरुले सबैका लागि नेपाल बन्नै दिएनन् । देश त बन्ने संविधानबाट हो, देश चल्ने संविधानबाट हो । कहिले पनि सबै नेपालीको लागि संविधान बन्दै बनेन ।’

प्रतिकृया