इराकस्थित अमेरिकी नेतृत्वको गठबन्धन शिविरमा आक्रमण
प्रकाशित मिति
२०८० माघ ७ गते, आईतवार ०२:००
माघ ७, २०८० बगदाद: इरान समर्थित लडाकु समूहले पश्चिमी इराकमा रहेको अमेरिकी सेनाको नेतृत्वमा रहेको सैन्य शिविरमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्दा एक इराकी र केही अमेरिकी हताहत भएको अमेरिकी केन्द्रीय कमाण्डले जनाएको छ । पश्चिमी इराकमा इरान समर्थित लडाकुले अल असद शिविरलाई लक्षित गरी धेरै ब्यालेस्टिक क्षेप्यास्त्र र रकेट प्रहार गरेका सेन्टकमले उल्लेख गरेको छ ।
अधिकांश क्षेप्यास्त्रहरू शिविरको हवाइ प्रतिरक्षा प्रणालीले रोकेको थियो तर ‘अन्य केही शिविरमा खस्दा’ केही अमेरिकी ‘कर्मचारी’ लाई चोट लागेको बताइएको छ । अमेरिकी केन्द्रीय कमाण्डद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ, “धेरै अमेरिकी कर्मचारीहरूलाई चोटपटक लागेको हुनसक्ने अनुमानपछि उनीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ । घटनामा कम्तीमा एक जना इराकी सैनिक घाइते भएका छन् ।”
गत अक्टोबरको मध्यदेखि इराक र सिरियामा इस्लामिक स्टेट समूहका जिहादीविरुद्ध लड्न तैनाथ अमेरिकी तथा गठबन्धन सेनामाथि दर्जनौं आक्रमण भएका छन् । गाजा द्वन्द्वमा इजरायललाई अमेरिकी समर्थनको विरोध गर्ने इरानसम्बद्ध सशस्त्र समूहहरूको खुला गठबन्धन ‘इस्लामिक रेजिस्टेन्स इन इराक’ ले अधिकांशको दाबी गरेको छ । उक्त समूहले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो आक्रमण गरेको जनाएको छ ।
पेन्टागनका अनुसार अक्टोबरको अन्त्यदेखि यसअघिका आक्रमणमा दर्जनौं अमेरिकी सैनिक सामान्य घाइते भएका छन् । इराकमा करिब दुई हजार ५०० र सिरियामा करिब ९०० अमेरिकी सैनिक छन् ।
प्रतिकृया