सीमा विवादबारे बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको छ : परराष्ट्रमन्त्री
प्रकाशित मिति
२०८० पुष २७ गते, शुक्रबार ०२:२१

पुस २७, २०८० काठमाडौँ: परराष्ट्रमन्त्री एनपी साउदले नेपाल-भारतबीच रहेको सीमा विवादबारे बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको बताएका छन् । शुक्रबार बिहान नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले जिल्ला सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा मन्त्री साउदले कालापानी, लिम्पियाधुरा लिपुलेक र सुस्ताबाहेकका सीमामा धेरै सहमति भइसकेको बताए ।
उनले सीमा विवाद समाधानका लागि दुवै देशको जोइन्ट बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको जानकारी गराए । ‘कालापानी, लिम्पियाधुरा लिपुलेक र सुस्ताबाहेकमा धेरै सहमति भइसकेको छ ।
यसअघि भएको सीमा नक्सांकन र रेखांकनका बेला केही ठाउँ नेपाल पक्षको भारत र भारततिरको नेपालमा आएको छ’, मन्त्री साउदले भने, ‘यसमा दुवै देशको जोइन्ट बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको छ । सहमतिका साथ यो काम अघि बढिरहेको छ ।’
उनले नेपाल सरकार आफ्नो सीमा र देशको स्वामित्व रहने जमिनकाबारे पूर्णरूपमा सजग रहेकोसमेत बताए । सीमा समस्या वार्ता, छलफल र कूटनीतिक पहलबाट टुंग्याउने प्रयास भइरहेको उनको भनाइ थियो। मन्त्री साउदले भारतका विदेशमन्त्री एस जयशंकरको हालैको भ्रमण सार्थक, महत्त्वपूर्ण र फलदायी भएको दाबी गरे ।
प्रतिकृया