नेपाली चिज उद्योग सङ्कटमा,समस्या समाधान गर्न सरकारलाई आग्रह
प्रकाशित मिति
२०८० पुष २१ गते, शनिबार ०६:१६
पुस २१, २०८० काठमाडौँ: चिज उद्योगी व्यवसायीले भारतीय चिजका कारण नेपाली चिज उद्योग संकटमा परेको भन्दै सरकारको ध्यानकर्षण गराएका छन् । पछिल्लो समय सरकारले कच्चा दुधको मूल्य बढाउने निर्णय गरेसँगै चिजको मूल्य पनि बढेको थियो । नेपाली चिजको मूल्य बढेपछि सस्तोमा भारतीय चिज भित्रन थालेकाले पछिल्लो समय नेपाली चिज स्टक हुन थालेको छ ।
हिमालय चिज उत्पादक संघका अध्यक्ष रिन्जी फूर्वा शेर्पाले शुक्रवार विज्ञप्ति जारी गर्दै भनेका छन्,“कच्चा दुधको मूल्य वृद्धि हुँदा चिजको मूल्य वृद्धि हुनु पनि स्वभाविक हो तर यसैबिचमा छिमेकी मुलुक भारतबाट विभिन्न ब्राण्डका चिज नेपाली बजारमा निर्वाध रूपमा भित्रिएर बिक्रीवितरण भइरहेका छन् । भारतीय उत्पादनभन्दा महङ्गो हुन जाँदा स्वदेशी चिज उद्योग प्रतिष्पर्धा गर्न नसक्ने अवस्थामा पुगेका छन् ।”
पछिल्लो समय कराडौँ रुपैयाँ बराबरका उत्पादित चिज स्टक भएको जारी विज्ञप्तिा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ,“ उद्यमीहरूले थप चिज उत्पादन गर्न नसकेर उद्योग नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यसको प्रत्यक्ष प्रभाव किसानसम्म परेको छ ।”
संघले भारतीय उत्पादनभन्दा महङ्गो हुन जाँदा स्वदेशी चिज उद्योग प्रतिष्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको उल्लेख गरेको छ । संघले भनेको छ,“आत्मनिर्भर तथा स्वदेशी उद्योगका रूपमा स्थापित भएका चिज उद्योग संरक्षण गर्न र यसलाई बचाउन तत्काल कदम चाल्न सरकारलाई आग्रह गदर्बछौँ ।”
नेपाली स्वदेशी चिज उद्योगलाई संरक्षण गर्नका लागि गैरकानुनी ढङ्गले आयात भइरहेको चिजलाई तत्काल नियन्त्रण गर्न, भन्सार कर बढाएर आयात निरुत्साहन गर्न तथा नेपाली चिज उद्योगीलाई अनुदानको व्यवस्था गर्न र दुधको लागत मूल्य घटाउनेतर्फ पहल गर्न संघले माग गरेको छ ।
नेपाली चिजको अन्तराष्ट्रिय बजारमा समेत माग भइरहेको भन्दै सहजीकरण गरिदिन समेत संघले आग्रह गरेको छ । व्यावसायीहरूले हिजो मात्रै कृषि मन्त्रीलाई भेटेर समस्या समाधानका लागि आग्रह गरेका थिए ।
प्रतिकृया