टी–२० विश्वकपः नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स
प्रकाशित मिति
२०८० पुष २० गते, शुक्रबार ०४:१७
पुस २०, २०८० काठमाडौँ: नेपाल यसै वर्ष आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको समूह ‘डी’ मा परेको छ । यस समूहमा नेपालसँगै दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् ।
टी–२० विश्वकप आगामी जुन ४ देखि ३० सम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान, आयरल्यान्ड, अमेरिका र क्यानडा रहेका छन् ।
प्रतियोगिताको समूह ‘बी’ मा इङ्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमान रहेका छन् । प्रतियोगिताको समूह ‘सी’ मा न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्यु गिनी रहेका छन् ।
प्रतियोगितामा सहभागी २० वटा टोलीलाई चार समूहमा विभाजन गरिएको छ । आफ्नो समूहमा रहेका प्रत्येक टोलीले एकअर्कासँग एक–एक खेल खेल्नेछन् । प्रारम्भिक चरणको समाप्तिपछि प्रत्येक समूहबाट दुई–दुईवटा टोली प्रतियोगिताको ‘सुपर आठ’ चरणमा पुग्नेछन् ।
‘सुपर आठ’ चरणमा पुग्ने आठवटा टोलीलाई पनि दुई—दुई समूहमा विभाजन गरिनेछ । ‘सुपर आठ’ चरणको समाप्तिपछि दुवै समूहमा सबैभन्दामाथि रहने दुई—दुई टोलीले प्रतियोगिताको सेमिफाइनल खेल्नेछन् ।
प्रतिकृया