• 4:23 pm

क्यानडा र हङकङ चेम्बरसँग लुम्बिनी चेम्बरको सहकार्य

प्रकाशित मिति

२०८० पुष १९ गते, बिहीबार ११:१२

पुस १९, २०८० काठमाडौँ: लुम्बिनी– लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सले विभिन्न अन्तर्राष्ट्रिय चेम्बर शाखासँग सहकार्य र साझेदारी गर्ने सहमति गरेको छ । हङकङस्थित नेपाल हङकङ चेम्बर अफ कमर्स, हिन्दू चेम्बर अफ कमर्स, क्यानडा तथा नेपाल–क्यानडा चेम्बर अफ कमर्सका बीच साझेदारी गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको चेम्बर लुम्बिनीका अध्यक्ष टङ्कप्रसाद पोखरेलले जानकारी दिए ।

नेपाल भ्रमणका क्रममा बुधबार लुम्बिनी आइपुगेका हिन्दु चेम्बर अफ कमर्स क्यानडाका प्रतिनिधि तथा नेपाल–क्यानडा चेम्बर अफ कमर्सका प्रतिनिधि र लुम्बिनी चेम्बर अफ कमर्सका प्रतिनिधिबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

लुम्बिनी चेम्बरका तर्फबाट अध्यक्ष पोखरेल र नेपाल क्यानडा चेम्बरका अध्यक्ष विजय पौडेल तथा हिन्दु चेम्बर अफ कमर्स क्यानडाका तर्फबाट अध्यक्ष नरेश चावडाले समझदारीपत्रमा हस्ताक्षर गरे ।

यसअघि गत महिना नेपाल चेम्बर अफ कमर्स हङकङका प्रतिनिधिसँग लुम्बिनी चेम्बरका अध्यक्ष पोखरेलले समझदारी गरेका थिए । उक्त समझदारीपत्रमा हङकङ चेम्बरका तर्फबाट सभापति लालबहादुर गुरुङले हस्ताक्षर गरेका थिए ।

तीनवटै चेम्बरसँग भएका समझदारीमा एकअर्काबीच सहकार्य गर्ने, अन्तर्राष्ट्रिय फोरममा लुम्बिनी चेम्बरलाई सहभागी गराउन पहल गर्ने, तालिम, छलफल, गोष्ठी र अन्तरक्रियालाई नियमित बनाउने, अनुभवको आदानप्रदान गर्ने तथा व्यावसायिक भ्रमण गर्ने समझदारी छ । समझदारीमा लुम्बिनी प्रदेशमा रहेका व्यावसायिक सम्भावनाको प्रवर्द्धनका लागि सहयोग गर्ने सहमतिसमेत भएको छ ।

प्रतिकृया