• 4:41 pm

ढाका-काठमाडौं बस चलाइँदै

प्रकाशित मिति

२०८० पुष १९ गते, बिहीबार ११:०१

पुस १९, २०८० झापा : पूर्वी नाकाबाट करिब ४० किमि नजिक मात्रै छ, बंगलादेशको सिमाना । भारतपछि नजिकको छिमेकी बंगलादेशले नेपाल र भारतका चार वटा नयाँ रुटमा अन्तर्राष्ट्रिय बस सेवा सञ्चालन गर्ने तयारी गरेको छ । बंगलादेशले करिब ८ सय १३ किमि दूरीको ढाका–काठमाडौं अन्तर्राष्ट्रिय बस सेवा सञ्चालन तयारी तीव्र पारेको हो ।

बंगलादेश, भुटान, इन्डिया र नेपाल (बीबीआईएन) यी चार देशबीच सोझो बस सेवा सञ्चालनका लागि सन् २०१५ जुनमा ‘मोटर भेहिकल’ सम्झौता भएको थियो । तर भुटानको संसद्ले सम्झौता अझै अनुमोदन गरेको छैन । तसर्थ बंगलादेशले नेपाल र भारतमा भने चाँडै बस सेवा सञ्चालनको गृहकार्य सुरु गरेको ढाकाबाट प्रकाशित ‘द डेली सन’ अखबारमा उल्लेख छ । अन्य यातायातका साधनको तुलनामा सस्तोमा बस यात्रा गर्ने यात्रुको चासो बढेकाले बंगलादेश सडक यातायात निगम (बीआरटीसी) ले भारत र नेपालसँग चार नयाँ रुटमा अन्तर्राष्ट्रिय बस सञ्चालन गर्ने योजना बनाएको हो ।

यसअघि बंगलादेशले ०७५ वैशाख १२ मा ढाका–काठमाडौं बस सेवा र ०७६ मंसिर २६–३० सम्म ढाका–दार्जिलिङ बसको परीक्षण यात्रा गरिसकेको छ । नेपालको मन्त्रिपरिषद्ले ‘लेटर अफ एक्सचेन्ज’ अनुमोदन गरेपछि करिब ६ महिनाभित्र नियमित रूपमा त्रिदेशीय बस सेवा सञ्चालन हुन सक्ने नेपाली अधिकारीको अनुमान थियो । तर लगत्तै आएको कोभिड महामारीका कारण ढाका–काठमाडौं बस सेवा परीक्षणमै सीमित भएको थियो ।

प्रतिकृया