रोजगारीको लागि युरोप पठाइदिने भन्दै ठगी गरेको आरोपमा ‘मेनपावर’ सञ्चालक पक्राउ
प्रकाशित मिति
२०८० पुष १७ गते, मंगलवार ०३:४५
पुस १७, २०८० काठमाडौँ: आकर्षक तलबसहित वैदेशिक रोजगारीका लागि युरोपमा पठाइदिने भनेर १९ लाख ६० हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मार्स नामक मेनपावरका सञ्चालक काभ्रेको पनौती नगरपालिका–१ का ४१ वर्षीय जयराम पौडेल रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका पौडेलले पदमकुमारी श्रेष्ठसहित दुई जनालाई वैदेशिक रोजगारीका लागि युरोप पठाइदिने र त्यसका लागि २० लाख लाग्ने प्रलोभन देखाएका थिए । पक्राउ परेका पौडेलले युरोप पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाई ३ लाखभन्दा धेरै तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटक–पटक गरी जम्मा १९ लाख ६० हजार ठगी गरेको जनाइएको छ ।
पक्राउ परेका पौडेललाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए । आकर्षक तलबमा विदेश पठाइदिन्छु भनेकै भरमा कसैलाई पनि रकम नदिन पनि प्रहरीले आग्रह गरेको छ ।
प्रतिकृया