• १०:२५ २०८० फाल्गुन १३ गते
  • 10:25 am

‘गाली गरेर मात्र देश बन्दैन, समन्वय गरेर देश बन्छ’ : महामन्त्री शर्मा

प्रकाशित मिति

२०८० पुष १७ गते, मंगलवार ११:४४

bishwo

पुस १७, २०८० काठमाडौँ: नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आउने चुनावको चिन्ता छोडेर सबै दल समृद्धिका लागि केन्द्रित हुन आवश्यक रहेको बताउनुभएको छ । नेपाली काँग्रेस जिल्ला संगठन शाखा भक्तपुरले आज आयोजना गरेको ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आयोजित प्रवचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले आउने चुनाबको चिन्ता छाडेर देश बनाउने साझा मुद्दामा लाग्न आग्रह गर्नुभयो ।

उहाँले मिसन २०८४ नभई देश बनाउने मिसनमा लाग्नुपर्ने बताउनुभयो । चुनावको चिन्ता लिनुभन्दा पनि २०९५ सालसम्म के काम गर्न सकिन्छ भनि विकासको खाका तयार गरी कार्यान्वयन गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो । महामन्त्री शर्माले राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र चारपटकसम्म मात्र सांसद बन्न पाउने व्यवस्था जरुरी रहेको बताउनुभयो ।

प्रकृति र संस्कृतिको सुन्दर देश नेपाल कहिल्यै बन्न सक्दैन भन्ने मानसिकताबाट मुक्त हुन जरुरी रहेको बताउँदै देश बनाउन राजनीतिक दल र नागरिक जाग्नुपर्ने उल्लेख गर्नुभयो । संबिधान सहमतिको साझा दस्ताबेज भएको बताउँदै दलहरुबीचको सहकार्यले शान्तिप्रकृयाका बाँकी काम पुरा गरी संबिधान प्रति अपनत्वको दायरा बढाउँदै सम्मुन्नतिको यात्रामा लम्कनुपर्नेमा जोड दिनुभयो ।

महामन्त्री शर्माले ठुलो जनसंख्याका कारण नेपाली बिदेश जाने अबस्थालाई रोक्ने र बिदेशमा रहेका नेपाली तत्काल फर्क भन्ने अबस्था नरहेको बताउँदै बरु बैदेशिक राजगारीको मर्यादा अभिबृद्धि गर्नुपर्ने उहाँको भनाई थियो । पार्टीका संस्थापक नेता बीपी कोईरालालाई एमाले,माओवादी केन्द्रले मात्र होईन स्वयं नेपाली कांग्रेसले समेत चिन्न र बुझ्न ढिलाई गरेको बताउनुभयो ।

बीपीको मेलमिलाप नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको भन्दै उहाँले बिपीले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सार्नुभएको दृष्टिकोण अहिले पनि उत्तिकै अपरिहार्य रहेको उल्लेख गर्नुभयो । महामन्त्री शर्माले देशमा केही नभएको हल्ला गरेपनि विकास भइरहेको बताउँदै देश विकासका लागि अझै गर्नुपर्छ र गर्न सकिन्छ भन्ने बिश्वास जगाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो ,‘गाली गरेरमात्र देश बन्दैन, समन्वय गरेर देश बन्छ’।

प्रतिकृया