राष्ट्रपति पौडेलबाट तमु ल्होसारको शुभकामना
प्रकाशित मिति
२०८० पुष १५ गते, आईतवार १०:४०
पुस १५, २०८० काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् ।
तमु ल्होसारका अवसरमा आज शुभकामना दिँदै उनले पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गरेका हुन् ।
राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धिका साथै यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्धत पुग्ने विश्वास व्यक्त गरेका छन् ।
नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायद्वारा तमु ल्होसार पर्वलाई नयाँ वर्ष सुरू भएको अवसरको रूपमा पुरानो वर्षलाई बिदाई र नयाँ वर्षलाई स्वागत गर्दै हर्षोल्लासका साथ ल्होसार पर्व मनउने गरेका छन् । ल्होसार पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।
प्रतिकृया