• 11:32 am

फेरि क्रमभंग गर्ने प्रधानमन्त्रीको घोषणा

प्रकाशित मिति

२०८० पुष ६ गते, शुक्रबार ०१:५८

पुस ६, २०८० काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यकालको एक वर्ष पुगे लगत्तै ‘बोल्ड डिसिजन’ लिने बताएका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिमा निर्माण सम्पन्न चार सय के।भी। इनरुवा जिआईस सवस्टेसन उद्‍घाटनको क्रममा शुक्रवार प्रधानमन्त्री दाहालले आफू नयाँ धक्काको नजिक पुगेको बताएका हुन् । उनले प्रधानमन्त्री बनेको एक वर्ष पूरा भइसकेपछि नयाँ ढंगबाट क्रमभंग गर्ने कोसिस गरिरहेको बताए । अबको निर्णय जनताको साथमा हुने बताए । जनतालाई निराश पार्ने भाष्य समाजमा सिर्जना भएकोप्रति चिन्ता व्यक्त गर्दै नकारात्मक भाष्यबाट टाढा बस्न आग्रह गरे । उनले देशलाई असफल राष्ट्र बनाउने षडयन्त्रबाट सावधान रहन अपिल समेत गरे । सारा नेपालीको निराश चाँडै नै आशामा परिणत हुने दाबी गरे ।

उनले भने, ‘मेरो अब एक वर्ष पुरा हुँदैछ । प्रधानमन्त्री भएर तेस्रो कार्यकाल सुरु गरेको । एक वर्ष पुरा भएपछि मैले नयाँ ढङ्गले केही धक्का दिएर क्रम भङ्ग गर्दैछु । त्यतिबेला आमनेपाली जनताको साथ रहने विश्वास समेत व्यक्त गर्न चाहन्छु । मानिसहरूमा अहिले एउटा भाष्य बडो नकारात्मक छ । जनतालाई निराश पार्ने । नेपाल अँध्यारोमा छ । कहीँंकतै उज्यालो छैन । नेपाल बस्न लायक छैन भन्ने गलत प्रचारको भाष्य बनेको छ । म यो मञ्चबाट आम नेपाली जनतालाई यो नकारात्मक भाष्यबाट निराश बनाउने र देशलाई असफल राष्ट्र बनाउने षडयन्त्रबाट सावधान रहन अपिल गर्न चाहन्छु । नेपाल उज्यालो छ । नेपालमा धेरै सम्भावना छ । धेरै चिज गर्न सकिन्छ । यो विश्वास जनतामा जगाउन सरकार लागिपरेको छ । एकताको बलमा सरकार अघि बढेको छ । छिट्टै सारा निराशा अन्त्य हुनेछ । ’

नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा बनेको चार सय के।भी। इनरुवा जिआईस सवस्टेसन नेपालकै दोस्रो ठूलो सवस्टेसन हो । नेपाल विद्युत प्राधिकरण, हेटौंडा–ढल्केबर–इनरुवा ४०० के।भी। सवस्टेसन बिस्तार आयोजना अन्तर्गत निर्माण सम्पन्न सवस्टेसन पूर्व क्षेत्रमा गुणस्तरीय विद्युत आपूर्ति गर्न मात्र नभइ भारतसहितका मुलुकमा विद्युत सप्लाइ गर्न समेत कोशेढुङ्गा सावित हुने विश्वास लिइएको छ ।

प्रतिकृया