• 6:38 am

७ अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

प्रकाशित मिति

२०८० पुष ४ गते, बुधबार १२:२९

पुस ४, २०८० काठमाडौँ: नेपाल राष्ट्र बैंकले शुक्रबार ७ अर्ब आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले ५ वर्ष अवधिको विकास ऋणपत्र–२०८५ ‘ट’ बोलकबोलमाध्यमबाट बिक्री गरेर ७ अर्ब आन्तरिक ऋण उठाउन लागेको हो।

विकास ऋणपत्र पुस ५ गते अपराह्न २ बजेसम्म बोलकबोल हुनेछ भने पुस ६ गते निष्काशन हुनेछ । यो विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण व्यक्तिले पनि खरिद गर्न सक्नेछन ।

यो ऋणपत्र धितो राखी कर्जासमेत लिन पाइने राष्ट्र बैंकले जनाएको छ । विसं २०८५ पुस ६ गते साँवा भुक्तानी हुने यो ऋणपत्रको ब्याज अर्धवार्षिकरुपमा भुक्तानी हुनेछ । आर्जित ब्याजमा ब्याजकर लाग्नेछ ।

प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालालाई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ । बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ब्याजदरको सीमालाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालालाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइनेछ ।

घटीमा रू ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमा नबढाइ रू ५० हजारले भाग लिँदा निशेष भाग जाने अङ्कमा खरिद गर्न पाइनेछ । यो ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्जबाट हुनेछ ।

प्रतिकृया