भारतको संसदमा खैलाबैला : एकैदिन ७८ सांसद निलम्बित
प्रकाशित मिति
२०८० पुष ३ गते, मंगलवार ०६:५७

पुस ३, २०८० काठमाडौँ: भारतमा लोकसभा र राज्यसभाका गरी एकैदिन ७८ जना सांसदलाई निलम्बित गरिएको छ। लोकसभाबाट भारतीय राष्ट्रिय कांग्रेसका सांसद अधीर रञ्जन चौधरीसहित ३३ जना र राज्यसभाबाट कांग्रेसका जयराम रमेशसहित ४५ जना सांसदलाई निलम्बन गरिएको बीबीसीले जनाएको छ।
संसदको सुरक्षा अवस्थालाई लिएर पछिल्लो ४ दिनदेखि संसदको अवस्था तनावग्रस्त थियो। केही दिनअघि दुई युवा दर्शकदीर्घाबाट बैठक चलिरहेका बेला संसदभित्र प्रवेश गर्दै नाराबाजी गरेका थिए। संसदको सुरक्षामा चुकेको भन्दै विपक्षी दलहरु सरकारमाथि खनिएका थिए।
सोमबार लोकसभाबाट कांग्रेसका ११ र तृणमूल कांग्रेसका ९ सहित ३३ सांसदलाई सभामुख ओम बिडलाले निलम्बित गरेका थिए। त्यसपछि विपक्षी दलले राज्यसभामा पनि हंगामा गरेका थिए। त्यसलगत्तै राज्यसभा सभापति जगदीप धनखडले ४५ जना विपक्षी सांसदलाई २२ डिसेम्बरसम्मका लागि निलम्बित गरेका थिए।
यसअघि डिसेम्बर १४ मा लोकसभाका १३ सांसद र राज्यसभाका एक सांसदलाई निलम्बन गरिएको थियो। हालसम्म कुल ९२ सांसद निलम्बित भइसकेका छन्।
राज्यसभामा कुल सांसद संख्या २४५ छ। जसमध्ये भाजपा र उसका सहयोगी दलका १०५, कांग्रेस सम्मिलित गठबन्धनका ६४ र अन्य ७६ सांसद छन्। जसमध्ये विपक्षी दलका ४६ सांसद निलम्बित भएका छन्।
यस्तै, लोकसभामा सांसद संख्या ५३८ छ। जसमध्ये विपक्षी दलका ४६ सांसद निलम्बित भएका छन्। हालसम्म ९२ सांसद निलम्बनमा परेका छन्।
सांसद निलम्बनको विपक्षी दलहरुले चर्को विरोध गरेका छन्। उनीहरुले सांसद निलम्बन लोकतन्त्रमाथि हमला भएको बताएका छन्।
प्रतिकृया