देशमा एमालेको एकल बहुमतको सरकार अपरिहार्य भइसक्योःओली
प्रकाशित मिति
२०८० मंसिर ३० गते, शनिबार ०५:४३

मंसिर ३०, २०८० झापा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब आउने चुनावमा नेकपा एमालेलाई एकल बहुमतको सरकार बनाउने किसिमले मत दिन मतदातासंग आग्रह गरेका छन् ।
झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा शनिवार पाँचथरको फिदिममा आयोजित आमसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले एमालेको एकल बहुमतको सरकारले मात्र देशका समस्याको सम्बोधन हुने दाबी गरे।
एमाले अध्यक्ष ओलीले जनतामा गुम्दै गएको विश्वास जगाउन नेकपा एमालेको एकल बहुमतको सरकारबाट मात्र संभव हुने बताए।
उनले भने,‘नेकपा एमालेमाथि गठबन्धन सरकारको आक्रमण जारी छ। यो सरकारबाट केही आशा छैन। आशा त मात्र एमालेको सरकारबाट गर्न सकिन्छ। त्यसैले हामीले भन्ने गरेका छौं मिसन ८४,२०८४ को चुनावमा एमालेले बहुमत ल्याउनै पर्छ।’
नेकपा एमाले फुटाउन र सिद्धाउन प्रयास गरिएको भए पनि एमाले त्यसलाई चिर्दै देशको पहिलो राजनीतिक शक्ति बनेको ओलीको भनाइ थियो । देशमा राजनीतिक अस्थिरता बढेकाले एमालेको सरकार अपरिहार्य भएको ओलीले बताए।
देशमा अन्योल र अराजकता बढ्दै गएकाले त्यसलाई चिर्न पनि एमालेको सरकार चाहिएको उनले बताए। मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा सहभागी छन् । बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा आइतबार पाँचथरको चिवाभञ्ज्याङ पुगेर टुंगिने कार्यक्रम छ।
प्रतिकृया