मुख्यमन्त्री जम्कट्टेलले बोलाए सर्वदलीय बैठक
प्रकाशित मिति
२०८० मंसिर १७ गते, आईतवार ०८:५२
मंसिर १७, २०८० काठमाडौँ: बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज सर्वदलीय बैठक आह्वान गरेका छन् । उनले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन् । गत बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।
प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समिति विषयमा छलफलका लागि बैठक आह्वान गरिएको मुख्यमन्त्रीको भनाई छ । बैठकले प्रदेशसभामा रहेका समितिको सभापतिको टुङ्गो लगाउने जनाइएको छ ।
उनले बागमती प्रदेशको संसदीय समितिको सभापति चयनको विषयमा छलफल गर्न बैठक आह्वान गरेको बताएका छन् । प्रदेशसभाले अहिले सम्म संसदीय समितिको सभापति चयन गर्न सकेको छैन ।
बागमती प्रदेश सभामा प्रदेश मामिला, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा स्वास्थ्य तथा कृषि समिति र उद्योग पर्यटन तथा वातावरण समिति गरी पाँचवटा समिति छन् ।
गत असारमा संसदीय समिति गठन गर्दै दलहरूले समितिका सदस्यहरूको टुंगो लगाएका थिए । तर, त्यसयता पटकपटक छलफल भए पनि समितिहरूको सभापति भने चयन हुन सकेको छैन । बैठकको सभाध्यक्षता समितिका ज्येष्ठ सदस्यहरूले गर्दै आएका छन् ।
प्रतिकृया