• 4:43 am

ECOPANEL ट्रेडमार्कसँग समान वा मिल्दोजुल्दो हुने गरी ECOPANEL शब्दको उपयोग वा अन्य ट्रेडमार्कहरूको प्रयोग तथा विज्ञापन गर्न, गराउन निषेध गरिएको

प्रकाशित मिति

२०८० मंसिर ८ गते, शुक्रबार १२:३५

मंसिर ८, २०८० काठमाडौँ: इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रा. लि. (कम्पनी उजुरीकर्ता) ले विगत एक दशकदेखि यसै कम्पनीद्वारा उत्पादित Prefab लगायतका निर्माण सामग्रीहरुमा आफैद्वारा सिर्जित तथा मौलिक “ECOPANEL” ट्रेडमार्क प्रयोग गर्दै आइरहेको र उक्त कम्पनीले आफ्ना मौलिक ट्रेडमार्कहरु अंकित आफ्ना गुणस्तरीय उत्पादनहरु मार्फत् आम उपभोक्ताहरु माझ अमिट छाप छोड्न सफल भएको कुरा सर्वविदितै भएकाे बताएकाे छ । उक्त कम्पनीले “ECOPANEL” का साथै “GORKHA ECOPANEL”, “मेरो घर GORKHAECOPANEL को भर” लगायतका ट्रेडमार्कहरु पेटेण्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२ बमोजिम वर्ग १९ र वर्ग ३५ मा श्री उद्योग विभाग, त्रिपुरेश्वर ( विभाग) मा दर्ता गरी उक्त ट्रेडमार्कहरुमा कानुन बमोजिम एकाधिकार प्राप्त गरेको छ।


यसरी यस कम्पनीले लामो समयको प्रयासबाट हासिल गरेको व्यावसायिक ख्याति र साखबाट अनुचित लाभ उठाउने दुषित नियतका साथ इको प्यानल नेपाल प्रा. लि. (विपक्षी) ले यस कम्पनीको एकल हक भोग र स्वामित्वको उपरोक्त ट्रेडमार्कहरुसँग मिल्ने गरी, उद्योग विभागबाट मिति २०७९/४/११ मा ECOPANEL शब्द कुनै किसिमबाट प्रयोग नगर्न, नगराउन अन्तरिम आदेश जारी भइ उच्च अदालत पाटनबाट समेत मिति २०७९।९।२१ गते सो आदेश सदर भैरहेको अवस्थामा, “NEPAL ECOPANEL”, “EPN SANDWICH ECOPANEL” लगायतका ट्रेडमार्कहरु पछिल्लो समय श्री उद्योग विभागमा दर्ता गरी प्रयोग गर्दै आएको व्यहोरा यस कम्पनीलाई जानकारी भयो । विपक्षीको उक्त गैरकानुनी कार्यले यस कम्पनीको हक अधिकारमा गम्भीर आघात पर्न गएको र उपभोक्ता समेत झुक्किने अवस्था रहेको हुँदा उक्त ट्रेडमार्कहरुको दर्ता बदर माग गरी मिति २०८०/०५/२६ मा यस कम्पनीले श्री उद्योग विभागमा छुट्टाछुट्टै उजुरी निवेदनहरु दायर गरेको थियो। उक्त उजुरी निवेदनहरुमा यस कम्पनीको एकाधिकारमा रहेको ट्रेडमार्क प्रयोग गरी उत्पादन, विक्री वितरण तथा कुनै पनि विज्ञापनिक कार्य नगर्नु नगराउनु भनी अन्तरकालिन आदेश समेत माग गरिएकोमा श्री उद्योग विभागबाट मिति २०८०/०७/२० मा सुनुवाई भई “हाललाई ECOPANEL शब्द प्रयोग नगर्नु नगराउनु” भनी विपक्षीको नाममा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५६ बमोजिम अन्तरकालीन आदेश जारी भएको व्यहोरा जानकारी गराएकाे छ ।


तसर्थ, उपर्युक्त आदेशहरु बमोजिम यस कम्पनीको एकाधिकार रहेको ECOPANEL ट्रेडमार्कसँग समान वा मिल्दोजुल्दो हुने गरी ECOPANEL शब्दको उपयोग वा अन्य ट्रेडमार्कहरुको प्रयोग गरी कुनै उत्पादन, विक्री वितरण, विज्ञापनिक कार्य तथा प्रचार प्रसार नगर्नु नगराउनु भनी विपक्षी, सम्बद्ध वितरक, विक्रेता, विज्ञापन प्रकाशन प्रसारण गर्ने संघसंस्था, एजेन्सी लगायत सम्बन्धित सबैमा सूचित गरिन्छ । साथै, विभागको आदेश प्रतिकूल कुनै कार्य भए गरेको पाइएमा त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुने र सो सम्बन्धमा कठोर कानुनी उपचारको मार्ग अवलम्बन गर्न यस कम्पनी बाध्य हुने व्यहोरा समेत सम्बद्ध सबै पक्षलाई सूचित गरेकाे छ ।

प्रतिकृया