उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्ने नेविसंघका ६ कार्यकर्तालाई २/२ वर्ष जेल
प्रकाशित मिति
२०८० मंसिर ८ गते, शुक्रबार ०८:१९
मंसिर ८, २०८० काठमाडौँ: जिल्ला अदालत काठमाडौँले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई निर्घात कुटपिट गर्ने नेविसंघका ६ कार्यकर्तालाई जनही २ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश विनोद खतिवडाको इजलासले ६ जनालाई कैद र जरिवाना गरेको साथै १ जनालाई सफाइ दिएको हो । ६ जनालाई २० हजार जरिवाना साथै उपचारमा लागेको २८ लाख रुपैयाँ दामासी भराउन आदेश भएको जिल्ला अदालत काठमाडौँले जनायो ।
जिल्ला अदालतले नेविसंघका कार्यकर्ताहरु हरि आचार्य, योगेन्द्र रावल, सयुज श्रेष्ठ, निरज रानामगरलाई दुई वर्ष कैद सजाय गरेको हो। दिपक ओझालाई भने सफाइ दिएको छ । प्रेम चलाउनेमाथि २०७७ साल असोजमा विश्वविद्यालय परिसरमै नेविसंघका कार्यकर्ताले लुकेर आक्रमण गरेका थिए ।
आक्रमण गर्नेमाथि लागेको आरोप मन्त्रिपरिषदले फिर्ता लिने निर्णय गरे पनि सर्वोच्चले अन्तरिम आदेशमार्फत रोक लगाएको थियो ।
गत जेठ ३० गतेको मन्त्रिपरिषदले गरेको मुद्दा फिर्ता लिने निर्णयलाई सर्वोच्चले असार ७ गते कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । मुद्दा फिर्ता लिन अग्रसरता कानुन मन्त्री धनराज गुरुङले लिएका थिए ।
प्रतिकृया